नक्कली पेय पदार्थ र रक्सीको बिगबिगी
काठमाडौं । भारतीय एम टी आर कम्पनीबाट उत्पादन हुँदै आएको बदाम जुसको नक्कल गरेर नेपाली बजारमा सोही प्रकारको जुस बिक्रि बितरण भइरहेको फेला परेको छ । फ्रुट एग्रो नामको कम्पनीले भारतीय कम्पनीको बट्टासँग ठयाक्कै मिल्ने गरी नक्कली स्टिकर र ट्रेडमार्क प्रयोग गर्दै बदाम जुस उत्पादन गरेर बजारमा पठाएको उजुरीको आधारमा उद्योग बिभागले कारवाही प्रक्रिया अगाडि बढाएको छ । भारतीय कम्पनीले आफनो नक्कल गरी सोही प्रकारको सामान उत्पादन गरेर नेपाली बजारमा बिक्रि बितरण गर्ने काम भएको उजुरी बिभागमा दिएपछि यस्तो रहस्यको खुलासा भएको बताइन्छ ।
करिव तीन महिना अगाडि एम टी आर कम्पनीले दिएको उजुरीको आधारमा नेपाली बजारबाट यस्तो नक्कली जुस फेला परेको बिभागका कानुन उप–सचिव दीपक घिमिरेले जानकारी दिएका छन । भारतीय कम्पनीको उजुरीको आधारमा बजारमा यस्ता सामान खुल्ला र छयापछयाप्ती रुपमा बिक्री बितरण भइरहेको अवस्थामा फेला पारेको जानकारी बिभागश्रोतले दिएको छ ।
यस्तै रोयल स्टेग रक्सीको बट्टामा रोयल सर्ट नामको नक्कली स्टीकर र ट्रेडमार्क टाँसेर बिक्रि बितरण गरी उपभोक्तालाई ठगि गर्ने काम भइरहेको बिभागले जनाएको छ । त्यसरी नक्कली स्टीकर टाँसेर बजारमा अवैध कारोवार गर्ने कम्पनी बिरुद्ध बिभागले सम्वन्धित जिल्ला कार्यालयमाफर्त कारवाही प्रक्रिया अगाडि बढाएको उप–सचिव घिमिरेले बताए ।
त्यस्तै गोल्डेन वकको बट्टामा लेवल नक्कल गरी उसैको बोतलमा नक्कली स्टिकर टाँसेर बजारमा छयापछयाप्ती बनाइएको छ । खुल्ला रुपमा यस्ता नक्कली रक्सी गरेर अवैध कारोवार भइरहेको पाइएपछि बिभागले कानुनी कारवाहीको प्रक्रिया पनि अगाडि बढाएको छ । बारा डिष्टिलरी, रोयल ट्याग र धनुषा डिष्टिलरीको बोतल प्रयोग भएको पाइएपछि ती कम्पनीको उत्पादन रोकेर कारवाही अगाडि बढाइएको बिभागले जनाएको छ ।
यसैबिच, चाडवाडको समयमा दैनिक उपभोग्य खाद्य बस्तुमा पनि मिसावट गरेर आम उपभोक्तालाई ठगी गर्ने गिरोह सक्रिय हुन थालेको छ । १० महिना खासै सक्रिय नहुने तर दशैं, तिहार, छट पर्व आएपछि दशैं बजारको नाममा सहुलियत पसल खोल्ने सरकारी नीति व्यवहारिक नभएको बताइन्छ । १२ महिना नै यस्ता सहुलियत पसल खोल्न सरकार तयार भएको खण्डमा बिचौलिया र नक्कली सामान उत्पादन गरेर आम उपभोक्तालाई ठगी गर्ने गिरोह आफैं ठेगान लाग्नसक्छ ।