साइकल खरिदमा करोडौं भ्रष्टाचार, कारवाहीबाट वचाउन जसपा आन्दोलित !
काठमाडौँ । प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धानले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलन थालेको छ जसपाको प्रदेश २ मधेस कमिटीले शनिबारदेखि आन्दोलन शुरु गरेको छ ।
शनिबार साँझ प्रदेश २ का आठै जिल्लाका सदरमुकाममा अख्तियारविरुद्ध मसाल जुलुस गरेको जसपाले आइतबार सदरमुकामहरूमा विरोध प्रदर्शन गरेको छ ।
प्रदेश २ मा सम्भवत सवभन्दा बढी चर्चा पाएको योजना ‘बेटी बचाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा नियमितता भएको आशंकामा अख्तियारको टोलीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको थियो ।
मुख्यमन्त्री लालबाबु राउतले भने अख्तियारको कदमप्रति आपत्ति जनाएका छन् । यो प्रदेश सरकार र आफूलाई बद्नाम गर्ने षड्यन्त्र मात्र भएको उनको दाबी छ । अनियमितता भयो भनेर समाचार आउनु, अख्तियारको टोलीले छापा मार्नु र तत्काल सबैतिर खबर छापिनु षड्यन्त्रपूर्ण भएको मुख्यमन्त्री राउतको दावी छ । सुशासनको सवालमा आफूहरु गम्भीर रहेको भन्दै मुख्यमन्त्री राउतले अख्तियारको छापा मार्ने शैली ठिक नभएको टिप्पणी गरेका छन् । मुख्यमन्त्री राउतले अख्तियारको छापालाई संघीयता असफल पार्ने षडयन्त्रको रुपमा अथ्र्याएका छन् ।
कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्न हालसम्म ४१ हजार २६२ थान साइकल खरिद गरिएको र यसमा करिव २९ करोड खर्च भएको छ । साइकल खरिद प्रक्रियामा अनियमितता भएको आरोप लाग्दै आएपछि अख्तियारले छापा मारेको हो ।
महालेखा परीक्षकको कार्यालयले पनि आफ्नो प्रतिवेदनमा साइकल खरिदबारे प्रश्न उठाएको छ । प्रतिवेदनअनुसार प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो । प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थीसमक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।
यसबारे उजुरी परेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारको बर्दिबासस्थित कार्यालयका अनुसन्धान अधिकृत उपसचिव मेघनाथ रिमालले जानकारी दिएका छन् । उनी नेतृत्वको ६ जनाको टोलीले झण्डै ३ घण्टा लगाएर कागजपत्र नियन्त्रणमा लिएको बताइएको छ ।