चाड पर्व : गरीव र निमुखालाई बाध्यता

सम्पादकीय

हिन्दुहरुको महान पर्वहरु दशैं, तिहार र छट नेपालीहरुको घर आँगनमा प्रवेश गरिसकेका छन । पर्व शुरु भएसँगै किनमेलको चटारो पनि त्यतिकै बढेको छ । बजारमा यतिवेला मानिसहरुको चहल पहल बेस्सरी अर्थात थामि नसक्नु गरी बढेको छ । रोजगारीको लागि शहर पसेकाहरु धमाधम आफनो थातथलोतिर फर्किन थालेका छन । जसले गर्दा सवारी साधनहरुमा यात्रुहरुको चाप पनि त्यतिकै बढन गएको छ । बिदेश गएकाहरु प्नि आफना मान्यजनका हातबाट टीका जमरा थाप्न र परिवारजनसँग बसेर मिठो मसिनो खान अनि परिवार मिलनका लागि स्वदेश फर्किने तयारीमा छन । गत वर्ष कोभिड महामारीका कारण राम्रोसँग चाड पर्व मनाउन नपाएका नेपालीजनहरु यसपालीको दशैं धुमधामकासाथ मनाउने तयारीमा लागेका छन ।
हुने खानेहरुका लागि यी पर्वहरु खुशीयाली साटने र खाने पिउनको लागि अवसर र बहाना बन्दै आएका छन । तर गरीव, निमुखा र सर्वसाधरण नागरिकका लागि भने दशा बन्ने गरेको दर्जनौ उदाहरण हाम्रा सामुमा छन । आम्दानीको श्रोत नभएका, महामारीका कारण रोजगारी गुमाएर बिचल्लीमा परेका निमुखाहरुको लागि दशैं र तिहार जस्ता पर्वहरु मनाउनु बाध्यता जस्तै छ । हुँदा खाने बर्गहरुका लागि पर्व बाध्यता बन्ने गरेको छ । उनीहरुका लागि यस्ता चाड पर्वहरु न आएकै जाति भन्ने मनस्थितिमा पुगेका छन । घरमा रहेका लालाबालाहरुका लागि आङ ढाक्न एकसरो कपडा, नुन, तेल र मसलाको जोहोको लागि साहुसँग ऋण काढनुपर्ने बाध्यता छन सर्वसाधरण नागरिक । यस्ता नागरिकहरुका लागि सरकारले कुनै राहतको व्यवस्था गरेको छैन ।
सहुलियत पसल भनेर शहर बजारमा खुलाइएकामा पनि सर्वसाधरण होइन हुने खानेहरुकै बोलवाला रहेको देखिन्छ । त्यहाँसम्म पनि सर्वसाधरणको पहुँच राम्ररी पुग्न सकिरहेको छैन । चिल्ला गाडी चढने र दशैं तिहार जस्ता पर्वहरुमा बिदेशमा किनमेलमा जाने हैसियत राख्नेहरु नै सहुलियत पसलमा झुम्मिने गरेका छन । जसका कारण गरीव निमुखाहरुको लागि यस्ता चाड पर्वहरु उत्सव नभएर बाध्यताको उपज बन्ने गरेको गुनासो बढेको छ । वर्षको एकपटक आउने चाड पर्व नमाउँदा समाजमा अपहेलित हुने तर मान्नको लागि पैसा नहुँदा कतिपयले आत्महत्याको बाटो समेत रोज्ने गरेको पाइएको छ । साहुसँग ऋण गरेर दशैं मनाउँद घरवार उडेको दुखान्त घटनाहरु समाजमा घटने गरेका उदाहरण पनि छन ।