एमसीसीबारे प्रधानमन्त्री र मन्त्रीको फरक अभिव्यक्ति
विना संशोधन पास हुन्छ : प्रम देउवा / यथास्थितिमा पास हुँदैन : मन्त्री खड्का
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसदबाट पारित हुने दोहोर्याएका छन् । केही दिनअघि एमसीसीलाई संशोधन गर्न अमेरिका तयार भएको र यो संसदबाट अनुमोदन हुने बताएका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा एमसीसी नेपालको कानूनभन्दा माथि नभएको दावी गर्दै विनासंशोधन पारित हुने बताए ।
संशोधन गर्नुपर्ने केही नभएको बताउँदै प्रम देउवाले एमसिसीबारे झुटो प्रचार भइरहेको आरोप समेत लगाए । एमसिसीमा नेपालकै कानुन लागू हुने अमेरिकाले भनिसकेको बताउँदै प्रम देउवाले वल्र्ड बैंक, एडिबीजस्ता दातृ निकायले दिने ऋणमा अन्तर्राष्ट्रिय कानुन लागू हुने भएपनि एमसिसी अनुदान भएकाले नेपालकै कानुन लागू हुने दावी गरे ।
देउवाले भने ‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ, विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । ऋण होइन । उनीहरुले नै यो नेपालको कानून भन्दा माथि नरहेको स्पष्ट पारिसकेका छन् । एमसीसी पास हुन्छ ।’
यता नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले यथास्थितीमा एमसीसी अनुमोदन हुन नसक्ने बताएका छन् । हालै अमेरिका पुगेर आएका परराष्ट्रमन्त्री खड्काले हिजो बिराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा सबै दल र पक्षको साझा सहमतीपछि मात्र एमसीसी पास हुने बताए । सहमती जुटाउन प्रयत्न भैरहेको समेत उनले बताएका छन् ।
सो पत्रकार भेटघाटमा मन्त्री खड्काले अर्ली इलेक्सनको सम्भावना समेत नरहेको बताए । सत्तारुढ गठबन्धनको सहमतीपछि मात्र अर्ली इलेक्सनबारे टुंगो लाग्ने उनले बताए ।
प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले गर्ने सम्भावना रहेको बताउँदै उनले प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जानुअघि नै प्रदेश सरकारको नेतृत्वको टुंगो लाग्ने जनाए ।