एमाले अध्यक्ष ओलीलाई किन भेटे करिश्मा र जितुले
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर बुधबार नायिका करिश्मा मानन्धर हाँस्य कलाकार जितु नेपालले भेट गरेका छन् ।
बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपाल पार्टी छाडेपछि अभिनेत्री करिश्मा राजनीतिक रुपमा सक्रिय छैनन् । ओलीसँग लोक गायिका एवम् राष्ट्रिय सभा सांसद कोमल वली, करिश्मा र जितुको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि करिश्मा र जितु एमाले प्रवेश गर्न लागेका हुन भन्ने कौतुहलता सामाजिक सञ्जालमा पोखिएको छ । तर जितुले सामाजिक सञ्जालमा करिश्मासँग ओलीको पढाइकेन्द्रित कुराकानी मात्र भएको संकेत गरेका छन् ।
ओलीसँग पढाइ र सिनेमा क्षेत्रको बारेमा मात्र कुराकानी भएको करिश्माले पनि बताएकी छिन् । ‘सर (एमाले अध्यक्ष ओली) ले मेरो अस्तिको स्टाटस हेर्नुभएछ । त्यसपछि फेरि उहाँले मलाई फोन गर्नुभयो । त्यसपछि हामी उहाँलाई भेट्न गयौँ, उहाँले सिनेमा क्षेत्रको विषयमा जानकारी लिन खोज्नु भयो । मैले कोरोना महामारीले पारेको प्रभावबारे जानकारी गराएँ ।’ करिश्माले भनिन् ।
ओलीले पढाइको बारेमा एउटा पुरानो घटना सुनाएको जितुले बताएका छन् । उनले भनेका छन् “उहाँकोमा एक जना विद्यार्थी आउनुभएछ । ओलीले उनलाई कति पढ्यौ भनेर सोध्नुभएछ । ती व्यक्तिले मास्टर्स गरेँ, पढाइ सकियो भन्नुभएछ । ओलीले उनलाई सम्झाउँदै भन्नुभएछ– ‘पढाइ होइन, सर्टिफिकेट लिने काम पो सकियो त । पढ्ने काम त कहाँ सकिनु ! पढ्ने चिज जीवनभर सकिन्न ।’”
चिया पिउँदै ओलीसँग भएको डेढ घण्टा संवाद सम्झदै जितुले भने ‘कला संगीतको बारेमा चासो राख्ने, कलाकारलाई माया गर्ने हजुरको बानी असाध्यै राम्रो लाग्यो । कति नेताले कलाकार चिन्दैनन् । तपाईंले चिन्नुहुन्छ । माया गर्नुहुन्छ । त्यो राम्रो लाग्छ ।’
जितुले ‘मुन्द्रे’को कमेडी क्लबमा ओलीलाई निम्ता पनि गरेको वताउँदै भने ‘उहाँले समय मिल्यो भने आउँछु भन्नुभएको छ ।’
कुराकानीका क्रममा ओलीले करिश्मालाई भने, ‘एउटा सुझाव छ चेली, डन्ट रन आफ्टर क्रिटिसिजम !’
ओलीले आलोचनादेखि नडराउन र कमेन्टको पछि नलाग्न सुझाव दिँदै बाबु छोरा र गधाको कथा सुनाए– ‘बाबुछोरा गधालाई आलोपालो डोहोर्याउँदै हिँडेको देखेर एउटा बटुवाले भनेछ, ‘कस्ता मूर्ख ? गधा डोहोर्याएर आफूहरू पैदल हिँड्छन् ।’
त्यसपछि एक जना अनि दुई जना चढ्दा पनि खिसिट्युरी कम भएन । आखिरमा गधालाई बोक्दा पनि उनीहरुले धर पाएनन् । ‘अन्तिममा बाबुछोराले गधालाई भीरबाट फालिन्छिन्,’ ओलीले सुनाएको जितेले बताए ।
ओलीले आफ्नै बारेमा आएका गालीगलौज र टीकाटिप्पणी बारे ‘मैले मान्छेलाई हँसायो भन्छन् । सिरियस त किन हुने र ? के गरेको छु र सिरियस हुनु ? खुसी हुन नपाउनु मैले ? म त्यो १४ वर्ष जेल बस्दा त बेखुसी छैन । आज त किन बेखुसी हुन्छु ?’ भनेको वताउँदै करिश्माले ओलीको सुझावपछि आफूमा केही परिवर्तन आएको बताएकी छिन् ।
‘उहाँले तपाईंले कसैलाई पनि शतप्रतिशत सन्तुष्ट पार्न सक्नुहुन्न भन्नुभयो । उहाँले भनेपछि आजबाट म कमेन्ट नहेर्ने पक्षमा पुगेँ । कहिलेकाहीँ फेसबकुमा आएको कमेन्ट देख्दा आत्तिन्छु,’ करिश्मा भन्छिन् ।
करिश्माले ओलीसँगको भेटमा राजनीतिबारे कुराकानी नभएको बताइन् । मानिसहरूले विभिन्न टिकाटिप्पणी गरिरहँदा उनी भने आफू एमालेमा प्रवेश गर्न लागेको कुरा भ्रममात्र फैलिएको बताएकी छिन् ।
उनी भन्छिन् ‘भोट त चुनावमा दिन्छु । कुनै न कुनै विचारलाई त भोट दिन्छौँ । त्यो हिसाबले पनि नागरिकको कर्तव्य हो । तर सक्रिय राजनीतिमा आएर नेता बन्ने कुनै सपना छैन ।’
जितुले पनि राजनीतिक पार्टीमा सक्रिय हुने कुनै चाहना नभएको बताएका छन् ।