बेमौसमी वर्षाले अपुरणीय क्षति

सम्पादकीय

असोज महिनाको अन्तिम दिन ३१ गतेदेखी परेको बेमौसमी वर्षाका कारण मुलुकको तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब बराबरको धानबाली नष्ट भएको प्रारम्भिक तथ्याङक कृषि तथा पशुपंन्छी बिकास मन्त्रालयले बाहिर ल्याएको छ । शनिवारसम्ममा १ सय ११ जनाको मृत्यु भएको छ । करिव ४१ जना हराइरहेको र त्यति नै संख्यामा घाइते रहेको गृह मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा मात्रै ६७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीलाई बाढी र वर्षाले नराम्ररी क्षति पु¥याएको रिर्पोट बाहिर आएको छ । क्षतिको अनुमानित रकममा मूल्यांकन ७ अर्ब २२ करोड बरावर रहेको बताइएको छ । वर्षाका कारण १ लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई सामान्य असर मात्रै पु¥याएको कृषि मन्त्रालयले जनाएको छ ।
खासगरी मुलुकका तीन वटा प्रदेशका एक लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा सामान्य असर परेको र जसमध्ये ६७ हजार ९ सय १९ हेक्टरको धान खेतीमा पूर्ण क्षति पुगेको छ । २ लाख ५८ हजार ९२ मेट्रिकटन धान बालीमा वर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान छ । यस्तै सुदुर पश्चिम, १ नम्वर प्रदेश र लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षातको असर धेरै छ । लुम्विनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही जिल्ला निकै प्रभावति हुने मध्येका हुन । यो प्रदेशमा ४२ हजार ४ सय २७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा अझ बढी मूल्यको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धानमा वर्षाले क्षति पु¥याएको छ ।
बाढी पहिरो पीडितलाई सरकारले उचित राहत उपलव्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी खर्चमा दुई दिन सुदुरपश्चिमको हेलिकोप्टरबाट भ्रमण गरेका छन । पीडित परिवारलाई प्रधानमन्त्रीले आश्वासन बाँडे पनि यति नै राहत दिने भनेर घोषणा भने गर्न सकेनन । जसका कारण पीडितहरु निराश हुन पुगेका छन । भएभरको जायजेथा बाढी पहिरोमा परेर क्षण भरमा सुकुम्वासी बनेकाहरुलाई सरकारले समयमा क्षतिपुर्ति नदिंदा उनीहरु बिचल्लीमा परेका छन । खाने गाँस र बस्ने बासको कुनै टुङ्गो नहुँदा उनीहरु अभिभावक गुमाएका झै बन्न पुगेका छन । तिनीहरुको पीडामा मलम लगाउने काम स्थानीय, प्रदेश र संघीय सरकारको हो । आपत बिपतको समयमा मुलुकमा सरकार छ भन्ने महसुस हुने गरी पीडित परिवारलाई तत्कालै राहत प्रदानका लागि कति पनि ढिलाई हुनु हुदैन ।