२० रुपैयाँबाट सुरु भएको सहकारी करोडौंको कारोबार गर्न सफल

गुल्मी । कुनै बेला महिलाहरुले सहकारी सञ्चालन गछौं भन्दा पत्याउँदैन्थें । पैसाको लागि पूरुषको भर पर्नुपथ्र्यो । तर अहिले २० रुपैयाँबाट महिलाहरुले समुह गठन गरी स्थापना गरेको गुल्मीको एक सहकारीले अहिले करोडौंको कारोबार गर्न सफल भएको छ ।
शनिबार देखि सदरमुकाम तम्घासमा शुरु गरिएको स्वावलम्बन महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं साधारण सभामा संस्थापक अध्यक्ष कुस्मा थापाले भन्नुभयो,‘२० रुपैयाँ उठाउन पनि महिला दिदिबहिनीहरु धौं–धौं मान्नुहुन्थ्यो । तर अहिले यहि सहकारी करोडौंको कारोबार गर्ने अवस्थामा पुगेको छ ।’
अहिले महिलाहरुले पनि अवसर पाए हरेक क्षेत्रमा अब्बल सावित हुँदै गएको थापाको बुझाई छ । १७ औं वर्ष सम्म सहकारीलाई नेतृत्व गरी समाल्नुभएकी थापाले सुरुवाती दिनहरुलाई स्मरण गर्दै भन्नुभयो,‘हिजो सहकारी खोल्दा यो तिमिहरुले सञ्चालन गर्न सक्दैनौं अर्को सहकारीमा गाभौं पनि भने, तर मैले मानिन् । पैसाकै लागि सधै भरी किन पूरुषसंग हात थाप्ने ?’ महिलाहरुले सञ्चालन गरेको संस्था सफल सावित हुँदै गएको थापाको दाबी रहेको छ । यो सहकारीलाई २०६० सालमा राष्ट्रिय सहकारी महासंघले उत्कृष्ट महिला सहकारीको रुपमा पुरस्कृत समेत गरेको स्मरण गराउनुभयो ।
हुन पनि यो सहकारी २०४८ सालमा साविक तम्घास, अर्खले, सिमिचौर र दुबीचौरका १६ जना महिला दिदिबहिनीहरु संगठित भएर समुह गठन गरिएको थियो । उनीहरुलाई सहकारीको माध्यमबाट सशक्तीकरण गर्ने उद्धेश्यले २०५० साल माघ २५ गते डिभिजन सहकारी कार्यालय पाल्पामा विधिवत रुपमा २५ जना सदस्यबाट दर्ता गरी यस सहकारीको स्थापना गरिएको थियो । २० रुपैयाँबाट शुरु गरिएको यो सहकारीले अहिले १० करोड ५० लाखभन्दा बढी बचत गर्न सफल भएको त्यस सहकारीकी अध्यक्ष बिमला गौतमको प्रतिवेदनले देखाएको छ ।
अहिले यस सहकारीले आर्थिक संकटमा परेका सदस्यहरुलाई आफ्नै सल्लाहमा नीति नियम बनाई आयमूलक व्यवसायमा लगानी पनि गर्दै आएको छ । यसरी लगानी गरिएको रकम सही सदुपयोग गरी विभिन्न व्यवसाय गर्ने सेयर सदस्यहरुलाई सम्मान समेत गर्दै आइरहेको छ । सोही अनुसार उत्कृष्ट ऋणि मिना घर्ति मगर, उत्कृष्ट उद्यमी पार्वती अधिकारी र उत्कृष्ट कृषि तर्फ सिता कुँवर र पशुपालन तर्फ अजिता पाण्डे सम्मानित हुनुभएको छ ।
साथै विभिन्न सेयर सदस्यका सन्ततीहरुलाई पनि शैक्षिक उपलब्धीका आधारमा पुरस्कृत गर्दै आएको छ । शैक्षिक सत्र २०७६ मा सामुदायिक विद्यालयबाट एस.ईई परीक्षमा सर्वोकृष्ट अङ्क ल्याउने निकेशजङ्ग कुँवर, तथा संस्थागत विद्यालयबाट सर्वोकृष्ट अङ्क ल्याउने पवन विक्रम कुँवरलाई सम्मान गरिएको थियो । यस्तै शैक्षिक सत्र २०७७ मा एस.ईई परीक्षामा सर्वोकृष्ट अंङ्क ल्याउने एलिसा शर्मा र संस्थागत विद्यालयबाट सर्वोकृष्ट अंक ल्याउने मेघा पौडेल सम्मानित हुनुभएको छ ।
२९ औं साधारण सभाको बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुल्मीका अध्यक्ष श्याम कुमार पाण्डेले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै अध्यक्ष पाण्डेले सहकारीको माध्यमबाट महिलाहरुलाई नेतृत्व विकासमा टेवा पुगेको दाबी गर्नुभयो । सहकारीको माध्यमबाट विभिन्न अवसर सिर्जना हुने भएकाले त्यस्ता अवसरहरुलाई भरपुर रुपमा सदुपयोग गर्न आग्रह समेत गर्नुभयो । पाण्डेले सहकारीको गरिमालाई कायम राख्न पनि आग्रह गर्नुभएको छ । त्यस अवसरमा पूर्वअध्यक्ष लक्ष्मी पन्थी अर्याल, पूर्व लेखा समिति सदस्य मिना पन्थीले समेत विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभएको थियो ।
साधारण सभामा लेखा संयोजक सरला पन्थीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, सचिव सावित्रा केसीले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष पार्वता खनाल पन्थीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीकी उपाध्यक्ष कमला मरासिनीको अध्यक्षता रहेको कार्यक्रममा सल्लाहकारहरु शान्ता थापा, विष्णुमाया पन्थी एवम् सञ्चालक समितिका पदाधिकारी विभिन्न उपसमितिका पदाधिकारीहरु सेयर सदस्यहरु, व्यवस्थापक लगायतको सहभागिता रहेको थियो । सञ्चालक सदस्य हिरा बस्नेत केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव सावित्रा केसीले गर्नुभएको थियो । साधारण सभा यहि मंसिर ४ गतेसम्म सञ्चालन हुने व्यवस्थापक सरस्वती थापा केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस सहकारीको चुक्ता शेयर पूँजी १ करोड १२ लाख ३७ हजार ३ सय रहेको छ । चालु आर्थिक वर्षसम्मको ऋण लगानी रु १० करोड ५८ लाख १४ हजार ६ सय ४० रुपैयाँ रहेको छ । भने विभिन्न संघहरुमा १ करोड ६८ लाख ८७ हजार ७८८ रुपैयाँ लगानी गरेको छ ।
चालु आर्थिक वर्षसम्मको जम्मा बचत रु १० करोड ५० लाख ९३ हजार ९ सय १३ रुपैयाँ रहेको केसीले जानकारी दिनुभयो । यस सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा २० करोड ७२ लाख ९८ हजार १० रुपैयाँ बराबरको कारोबार गरेको छ । अहिले यस सहकारीमा १ हजार ११ जना सेयर सदस्य र ३९२ जना नाबालक गरी १४ सय ३ जना सदस्य रहेका छन् ।
सहकारीले विभिन्न कोष समेत स्थापना गरेको छ । जसमा ७० वर्ष पुगेपछि सेयर सदस्यहरुले मासिक रुपमा वृद्धाभत्ता समेत पाउँछन् । सेयर सदस्यको मृत्युमा आर्थिक सहयोग, दैविकप्रकोपमा पर्ने सेयर सदस्य आर्थिक सहयोग, स्वास्थ्य कोष पनि स्थापना गरिएको छ भने सुत्केरी भत्ता समेत वितरण गर्दै आएको छ । जसमा १२ जना महिलाले यो सुविधा लिएका छन् ।