गुल्मी काँग्रेसको सभापतिमा खिलध्वज पन्थी भारी
मतसहित निर्वाचित

नेपाली काँग्रेस गुल्मीको जिल्ला सभापतिमा खिलध्वज पन्थी अत्याधिक मत सहित निर्वाचित हुनुभएको छ ।नेपाली काँग्रेस गुल्मीको ८ औं जिल्ला अधिवेशनबाट १ हजार २ सय ७१ मतसहित विजयी हुनुभएको हो । भर्खर सकिएको नेपाली काँग्रेस जिल्ला कार्य समितिको अधिवेशनबाट निर्वाचित पन्थी हालसम्म भएका निर्वाचनबाट सबै भन्दा बढी मत सहित सभापति पदमा निर्वाचित हुनुभएको हो ।
काँग्रेस कार्यकर्ताको शिर भुकाउने काम कदापी गर्ने छैनः सभापति पन्थी
सभापतिमा निर्वाचित पन्थी रेसुङ्गा नगरपालिका–५, भुवनपानीका वासीन्दा हुुनुहुन्छ । ४६ बर्षीय पन्थी २०४६ साल देखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आउनुभएको छ । साढे ८ बर्ष सम्म नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला अध्यक्ष हुनुभएका पन्थी यस अघिको जिल्ला अधिवेशनमा पनि सचिव पदमा अत्याधिक मतले विजयी भई पार्टी संगठनलाई चुस्त पार्दै र बिशेष गरि युवा पुस्ताको बढि मन जित्दै आउनुभएको छ ।
विकासप्रेमी नेताका रुपमा परिचत पन्थीले सोमबार जिल्लास्थित पार्टी कार्यालय बी.पी स्मृति भवन तम्घासमा पदभार ग्रहरण गर्दै काँग्रेस कार्यकर्ताको शिर झुकाउने कुनै पनि कार्य कदापी नगर्ने प्रतिवद्धता जनाउनुभएको छ । सभापति पन्थीले भन्नुभयो,–‘अब मेरो जिम्मेवारी एउटा हातमा पार्टीको संगठन हुनेछ, अर्को हातमा विकासका नारा हुनेछन्।’ सभापति पन्थीले विकास र संगठन दुवैलाई सन्तुलन बनाएर लैजाने दाबी गर्नुभयो ।
उहाँले नेपाली कांग्रेस गुल्मीबाट २००७ साल देखि नेतृत्व गर्ने सबै अग्रजहरुको नाम नै किटर स्मरण गर्दै सम्मान प्रकट गर्नुभयो । विगत देखि हाल सम्म मृत्यु भएका सबै काँग्रेसजनको पनि नाम लिएर स्मरण गर्दै सभापति पन्थीले भन्नुभयो,–‘स्वर्गबाटै उहाँहरुले सपना देख्नुभएको छ, त्यो सपना भनेको के हो ? भने काँग्रेस पार्टी बिलयो बनोस, गतिशिल बनोस्, चुस्त र दुरुस्त बनोस्, पार्टी विपन्न वर्गको सारथी र सहयोगी बनोस्, सबैको बीचमा प्रिय बनोस् ।’ सभापति पन्थीले गुल्मी जिल्ला शहिद शम्शेर बहादुर खत्री लगायतका सयौं शहिदको रगतबाट सिंचित भूमि भएको बताउँदै शहिदले देखाएको बाटोलाई आफुले पच्छाउने उल्लेख गर्नुभयो ।
सभापति पन्थीले पार्टीको आन्तरिक निर्वाचनले काँग्रेसलाई थप क्रियाशिल बनाएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘यो निर्वाचनमा कसैले जितेको छैन् । यो पार्टीको आन्तरिक कुरा हो । कसैले हारेको छैन् । यदि कसैले जितेको छ भने सिङ्गो लोकतन्त्रले जितेको छ । काँग्रेसले जितेको छ ।’ सभापति पन्थीले यो अधिवेशनले आफुलाई काम गर्ने जिम्मेवारी मात्र प्रदान गरेको बताउनुभयो ।
आन्तरिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाएको छ ः– बेद थापा
नेपाली काँग्रेस जिल्ला सभापतिका प्रत्यासी उमेदवार तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि वेद थापाले पार्टी भित्रको आन्तरिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाएको बताउनुभयो । सभापतिमा विजयी पन्थीलाई शुभकामना दिदै कालीगण्डकी गाउँपालिका अध्यक्ष समेत रहनुभएका थापाले भन्नुभयो,‘हामीले आन्तरिक प्रतिस्पर्धामा सहभागिता जनायौं । यसले पार्टी भित्रको लोकतन्त्रलाई बलियो बनाएको छ ।’ थापाले आगामी तीनै तहको निर्वाचनमा यो काँग्रेसको सरकार निर्माण हुने गरि यो अधिवेशन सफल सावित हुने बताउनुभयो । यसका लागि आफु सम्पूर्ण रुपले प्रयासरत रहने प्रतिवद्धता समेत उल्लेख गर्नुभयो ।
गुल्मी काँग्रेस युवा पुस्तामा हस्तान्तरण भयो ः पूर्व सभापति सेन
नेपाली काँग्रेस गुल्मीका पूर्व पार्टी सभापति त्रैलोक्यप्रताप सेनले यो अधिवेशनबाट गुल्मी काँग्रेस युवा पुस्तामा हस्तान्तरण भएको बतानुभयो । नवविर्वाचित सभापति पन्थीलाई शुभकामना दिंदै उहाँले भन्नुभयो,–‘काँग्रेसका नवनिर्वाचित साथीहरुको अनुहार हेर्ने हो भने यस पटक गुल्मी जिल्लाको काँग्रेस युवा पुस्तामा हस्तान्तरण भयो ।’ कांग्रेस युवा पुस्तामा हस्तान्तरण भएकाले सभापति पन्थीको टिम सफल हुने दाबी गर्नुभयो ।
सेनले भन्नुभयो,–‘महिनौं सम्म कार्यकर्ताहरुको माझमा पुगें, ग्रासरुट पुरै खिलध्वजको पक्षमा लागेको पाएँ, कांग्रेस कार्यकर्ताहरु मात्र होईन, आम सर्वसाधरण जनताले समेत खिलध्वजलाई विकास प्रेमी नेताका रुपमा मान्दा रहेछन्, विकास र खिलध्वज पर्यावाची नाम भएको पाए पछि खिलध्वज नै अबको सभापति हुनुपर्छ भन्ने सबैको चाहना रहेछ ।’ आज नेपाली काँग्रेसले विजयी हासिल गरेको बताउनुभयो ।
पन्थी र थापा दुवै काँग्रेसका आँखा हुन्, जुन आँखा घोंचे पनि दुख्छ ः निवर्तमान सभापति श्रेष्ठ
नेपाली काँग्रेसका निवर्तमान सभापति भुवन प्रसाद श्रेष्ठले खिलध्वज पन्थी र सभापतिका प्रत्यासी बेद थापा काँग्रेसका दुई वटा आँखा भएको बताउनुभएको छ । ‘निर्वाचित सभापति पन्थी र सभापतिको प्रत्यासी बेद थापा दुवै काँग्रेसको आँखा हुन् । जुन आँखा घोंचे पनि दुख्छ ।’ श्रेष्ठले भन्नुभयो,–‘व्यक्ति भन्दा विधि ठुलो हो, नेता भन्दा निति ठुलो हो ।’ आफ्नै असल कर्मका कारण यो संभव भएको श्रेष्ठको भनाई छ । उहाँले भन्नुभयो,–‘खिलध्वज पन्थी एउटा गरिबको छोरा, किसानको छोरा । यो परिवारमा कुनै राजनैतिक विरासत प्राप्त छैन् । र विरासतको ब्याज पनि होइन् ।’ श्रेष्ठले नवनिर्वाचित सभापति पन्थीलाई शुभकामना दिंदै पन्थीको कामले नै आज कार्यकर्ताले सभापतिमा निर्वाचित गराएका बताउनुभयो ।
कस्ले कति मत प्राप्त गरे ?
निर्वाचन अधिकृत सतिस कुमार झाका अनुसार नेपाली काँग्रेसको ८ औं जिल्ला अधिवेशनबाट १२ सय ७१ मत सहित सभापतिमा पन्थी निर्वाचित हुनुभएको हो । सभापति पतिका अर्का प्रतिस्पर्धाी बेद बहादुर थापाले ३८४ ल्याउनुभएको थियो । २ जना उपसभापतिका लागि ३ जनाको उमेदवारी परेको थियोे । जसमा अनन्तराम पौडेलले ११ सय ८७ र शिव बहादुर खत्रीले १ हजार ३३ मत प्राप्त गर्दै उपसभापतिमा निर्वाचित हुनुभएको छ ।
उपसभापतिका अर्का उमेदवार झविन्द्र विश्वकर्माले ५०८ मत प्राप्त गरेका थिए । २ जना सचिव पदका लागि ५ जनाको उमेदवारी परेको थियो । जसमा जगदीश भट्टराईले ९ सय ९१ र भगतसिंह खड्काले १ हजार २२ मत प्राप्त गर्दै सचिव पदमा निर्वाचित हुनुभएको छ ।
सचिव पदका अर्का उमेदवार थम्मन बहादुर खत्रीले ४१५, पुर्ण केसीले ३४६ र पृथ्वी बहादुर फौजदारले १८० मत प्राप्त गरेका थिए । २ जना सह–सचिव पदमा ४ जनाको उमेदवारी परेको थियो । जसमा छवि पाण्डे १ हजार १३३ र धर्मराज पाण्डे ८ सय ५० मत सहित सह– सचिव पदमा निर्वाचित हुनुभएको छ । सह–सचिव पदका अर्का उमेदवार निरोज मरासिनीले ३६२ र रेशम कुँवरले ५८१ मत प्राप्त गरे ।
खस आर्य सदस्यमा ७९५ मत सहित कृष्ण प्रसाद पोखरेल, ७ सय मत सहित धिरेन्द्र केसी, ८६३ मत सहित पदम बहादुर बिष्ट, ७६५ मत सहित लिलाधर आचार्य र ७८७ मत सहित लोकप्रसाद खरेल निर्वाचित हुनुभएको छ ।काङ्ग्रेस गुल्मीको ८ औं जिल्ला अधिवेशनमा गरिएको निर्वाचनमा १ हजार ६ सय ९५ मत खसेको थियो । जसमा ३८ मत बदर भएका छन् ।
नेपाली काङ्ग्रेस जिल्ला सभापति, उपसभापति, सचिव र सह–सचिव सहित सदस्य टुङ्गो लगाउन गुल्मी जिल्लाका १ हजार ७ सय ६६ जना क्षेत्रीय प्रतिनिधि सदरमुकाम तम्घास आएका थिए । क्षेत्र नम्बर १ बाट ९ सय ३९ जना र क्षेत्र नम्बर २ बाट ८ सय २७ जना क्षेत्रीय प्रतिनिधिको रुपमा चुनिएका थिए ।