बचत तथा ऋण सहकारी संघ गुल्मीको
१४ औं वार्षिक साधारणसभा सम्पन्न
जिल्लाभर रहेका बचत तथा ऋण सहकारी संस्थाको छाता संगठनक बचत तथा ऋण सहकारी संघ लिमिटेड तम्घास गुल्मीको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम तम्घासमा आयोजना गरिएको साधारण सभाको जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी संघका राष्ट्रिय प्रतिनिधि यम बहादुर थापाले उद्घाटन गरे ।
त्यस अवसरमा थापाले राजनितिक, सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरणमा हित पुर्याउनका लागि सहकारीको स्थापना गरिएको बताए । उनले भने,–‘संसारका कुनै पनि राज्यले जनताका सबै आवश्यकता पुरा गर्न सक्दैनन् । तर सहकारीको माध्यमबाट जनताका आवश्यकता पुरा गर्न सकिन्छ ।’ थापाले सोही कारण पनि अर्थ नीतिका तीन खम्बामध्ये एक खम्बा सहकारी पनि भएको उल्लेख गरे ।
उनले सहकारीमाथि पनि विश्वसा घट्दै जान थालेको भन्दै सहकारीलाई, सहकारीमय बजाउनुपर्नेमा जोड दिए । थापाले सहकारी नीति, विधि, पद्धति प्रविधिमा सञ्चालन हुनुपर्ने बताउँदै लेखा प्रणालीलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउनुपर्ने बताए । यसका लागि प्रविधिलाई अधिकतम प्रयोगमा ल्याउन पनि आग्रह गरे । वार्षिक साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक शालिकराम पन्थीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्ष गणेश श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन र सचिव श्यामलाल कुँवरले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका प्रतिवेदनहरु सभाद्वारा पास गरिएको छ ।
सोही अवसरमा उत्कृष्ट सहकारीको रुपमा दुई वटा सहकारी सम्मानित भएका छन् । जनकल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड छत्रकोट गाउँपालिका– ३ धरमपानी र गुल्मी युनाईटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिका–१ तम्घास गुल्मीलाई सम्मान गरिएको थियो ।
संस्थाको तर्फबाट सम्मानपत्र ग्रहण गर्दै जनकल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बैकुण्ठ्ठ प्रसाद पन्त र गुल्मी युनाईटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष रामप्रसाद पन्थीले धन्यवाद ज्ञापन गरेका थिए । सोही अवसरमा संघको सदस्यहरुको तर्फबाट बोल्दै भुवन प्रसाद अर्यालले संघमा सदस्य संख्या बढाउनुपर्ने सुझाव दिएका थिए ।
संघका अध्यक्ष श्यामकुमार पाण्डेले कोभिड–१९ का कारण यस जिल्लाका सहकारीमा लगानीका क्षेत्रहरुमा समस्या आइरहेको बताए । उनले जिल्लामा रहेका सहकारीहरुलाई सहकारी ऐन २०७४ बमोजिम छरिएर रहेको पूँजी परिचालन गरि प्रविधि, नीति, विधि अनुसार चल्न पनि निर्देशन दिए । समय सापेक्ष सदस्यहरुको अधिक सेवा सुविधालाई सुलभ र सरल बनाई शेयर सदस्यहरुमा सेवा विस्तार गर्नु मुख्य कर्तव्य रहेको पनि उल्लेख गरे । अध्यक्ष पाण्डेले सहकारीको मर्म र उद्देश्य अनुरुप काम गर्न आग्रह गरे । संघका उपाध्यक्ष शंकरप्रसाद पन्थको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव श्यामलाल कुँवरले गरेका थिए ।
गुल्मी जिल्लाभर कार्यक्षेत्र रहेको यस संघबाट हालसम्म २४ वटा संस्थाले सदस्यता प्राप्त गरेका छन् । यसको बैंक मौज्दात रु २० लाख ३१ हजार ४ सय ४३ रुपैयाँ ९८ पैसा रहेको छ । शेयर पुँजी २ लाख २० हजार तथा सम्पत्ती तथा दायित्व रु २३ लाख ४२ हजार ९ सय ४८ रुपैयाँ ४७ पैसा रहेको छ । खुद नाफा ४० हजार ६ सय ९७ तथा जगेडा कोष १ लाख ३९ हजार १ सय ३८ रुपैयाँ २५ पैसा रहेको छ । संरक्षित पुँजी फिर्ता कोष ७ हजार २ सय ५७ रुपैयाँ ८० पैसा रहेको छ । भने शेयर लाभांश कोष १२ हजार ९ सय ६१ रुपैयाँ ५६ पैसा रहेको छ ।