सुशासन अभियान गुल्मीद्वारा मोबाइल एलाक कार्यक्रम सम्पन्न
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मीले मोबाइल एलाक कार्यक्रम सम्पन्न गरेको छ । भष्ट्रचार, ढिलासुस्ती र अनियमितता विरुद्ध लामो समय देखि निगरानी र सम्बन्धित निकायलाई ध्यानकर्षण गराउँदै आएको सुशासन अभियान गुल्मीले आइतबार जिल्ला प्रशासन कार्यालयमा गुनासो डेस्क राखी मोबाइल एलाक अर्थात गुनासो सुन्ने कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवासम्बन्धमा सेवाग्राहीबाट गुनासो संकलन गरि समाधानका लागि पहल गर्ने उद्देश्ले कार्यक्रम सञ्चालन गरिएको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले बताउनुभयो । त्यस क्रममा सेवाग्राहीहरुले विभिन्न गुनासा राखेका छन् । उनीहरुले सेवाग्राहीको उपस्थिति (संख्या) अनुसार सेवा प्रवाह गर्नका लागि कर्मचारीको अभाव रहेको, सेवा प्रवाह गर्ने क्रममा वृद्ध, अपाङ्ग, अशक्तलाई उचित प्राथमिकता दिन नसकेको, कर्मचारीहरुले नियमित रुपमा परिचयपत्र नलगाएको गुनासो गरेका संस्थाका उपाध्यक्ष ढुण्डीराज पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार शान्त वातावरणमा पालैपालो नाम सुन्ने व्यवस्था मिलाउन नसकेको, सेवा लिन आउने सेवाग्राहीलाई बस्नका लागि उचित व्यवस्थापन नगरिएको, राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्लाको धेरै टाढा अरर्वेनीबाट आएका तर विवाह दर्ता नभएको कारणबाट परिचयपत्र बनाउनबाट बञ्चित हुनु परेको, राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध नभएका कारण राहदानी बनाउनबाट बञ्चित हुनु परेको गुनासो गरेका थिए ।
कर्मचारीहरुको खाजा समय सेवाग्राहीहरुलाई जानकारी नभएको, टाठाबाथाले छिटो सेवा लिने गरेको तर सर्वसाधरण लाइनमा बसिरहनु परेको लगायतका गुनासा संकलन भएका अभियानका सचिव विनोद पाण्डेले जानकारी दिनुभयो । पाण्डेले जिल्ला प्रशासन कार्यालयबाट तत्कालै सम्बोधन गर्ने समस्या समाधान भएका र केही गुनासाहरुका सम्बन्धमा भने प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र मार्फत जानकारी गराउने जानकारी दिनुभयो । गुनासो संकलन कार्यक्रममा अभियानका सहसचिव धनेन्द्र विश्वकर्मा, सदस्यहरु बेद प्रसाद कुँवर, अशोक पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
यस संस्थाले स्थापनाकाल देखि ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालसंग आवद्ध भई काम गर्दै आइरहेको छ । संस्थाले राष्ट्रिय तथा जिल्ला स्तरमा विद्यमान आर्थिक भष्ट्रचार र सार्वजनिक अधिकारको दुरुपयोगलाई संगठित र संस्थागत रुपमा प्रतिरोध गर्दै सामाजिक क्रियाकलाप तथा आर्थिक कारोबार सम्बन्धी पद्धति व्यवहारमा शुद्धता र समन्यायलाई प्रोत्साहित गर्नका लागि विभिन्न रचनात्मक काम गर्दै आइरहेको छ ।