वडामा तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको छ । बिहिबार एक औपचारिक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो ।
आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै मेयर भुसालले रेसुङ्गा नगरपालिकाले प्रत्येक वडाहरुमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराएको बताउनुभएको छ । नगरपालिकामा रहेका कोही पनि नागरिक स्वास्थ्य सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ स्वास्थ्यको क्षेत्रमा नगरले उल्लेखीय प्रगति गरेको उल्लेख गर्नुभयो । मेयर भुसालले अहिले आफ्नै पहलमा बुटवल, पाल्पामा हुने उपचार सेवा जिल्लातहमै उपलब्ध गराउने उद्देश्यका साथ गुल्मी अस्पतालमा अत्याधुनिक भवन निर्माणको कार्य समेत सञ्चालन भइरहेको बताउनुभएको छ ।
वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले वडाबाट नै आधारभूत स्वास्थ्य सेवा पु¥र्याउने उद्देश्यका साथ तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएको बताउनुभएको छ ।वडाअध्यक्ष पाण्डेले वडाबाटै छरितो समयमा स्वास्थ्य सेवा प्रवाह गरिने भएकाले नागरिकहरुलाई यसबाट भरपुर सेवा लिन आग्रह गर्नुभएको छ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट परिवार नियोजन सम्बन्धि स्वास्थ्य सेवा, गर्भवती महिलाको जाँच गरिने, स्वास्थ्य शिक्षा प्रदान गरिने, बालबालिकाहरुका लागि खोप सेवा उपलब्ध गराउने, सरुवा रोगहरुको उपचार सेवा उपलब्ध गराइने तथा निःशुल्क औषधी समेत उपलब्ध हुने र आकस्मिक प्राथमिक उपचार लगायतका आधारभूत स्वास्थ्य उपचार सम्बन्धि सेवा प्रदान गरिने वडाअध्यक्ष पाण्डेले बताउनुभएको छ । यस आधारभूत स्वास्थ्य सेवा केन्द्रमा एक जना अनमी र एक जना अहेब रहनुभएको छ ।
रेसुङ्गा नगरपालिका भित्र अहिले ९ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेका रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिनुभएको छ । अर्यालका अनुसार यस नगरपालिकाको विभिन्न वडामा चार वटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य केन्द्र सञ्चालित रहेको छ ।
आधारभूत सेवा केन्द्र शुभारम्भ कार्यक्रममा रेसुङ्गा नगरपालिका उपमेयर सीता भण्डारी, वडा सदस्यहरु उमकला पाण्डे, मुकुन्दहरि गौतम, शालिकराम पन्थी, नेकपा एमाले रेसुङ्गा नगरपालिका वडाअध्यक्ष रामप्रसाद पन्थी, नेपाली काँग्रेस वडा सभापति जीवलाल पन्थी, नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष हरिप्रसाद भुसाल, जनता समाजवादी पार्टी नेपाल गुल्मीका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, राप्रपाका ठाकुर प्रसाद पाण्डे, गुल्मी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दुर्गाप्रसाद पाण्डे लगायतको उल्लेखनीय सहभागिता रहेको थियो
।