गुल्मीको सदरमुकाम तम्घासमा चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवम् औद्योगिक मेला आयोजना हुने

गुल्मीको सदरमुकाम तम्घासमा चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवम् औद्योगिक मेला आयोजना हुने भएको छ । “गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’’ भन्ने नाराका साथ यहि चैत्र २५ गते देखि २०७९ बैशाख ४ गतेसम्म चिदीचौर खेलमैदानमा महोत्सव सञ्चालन गर्न लागिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । मंगलबार गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरि अध्यक्ष पौडेलले गुल्मी जिल्लाका ऐतिहासिक र पौराणिक स्थलहरुको प्रचार–प्रसार र प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

पौडेलले गुल्मी जिल्लामा अवसरको कमीले लुकेर रहेका सम्पदा, कला, संस्कृतिलाई उजागर गरी प्रवर्धन गर्ने र स्थानीय उत्पादनको प्रचारप्रसार एवं बिक्री वितरण गर्ने, उत्पादन वृद्धि गर्नको लागि प्रोत्साहित गर्ने र स्वरोजगारको वृद्धि गर्ने समेत उद्देश्य रहेको बताउनुभयो ।

उपभोक्ताको चाहना बुझी स्थानीय उत्पादन प्रयोगमा वृद्धि गरि राष्ट्रिय आयमा वृद्धि गर्ने, अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादनको परिचय गराई निर्यात व्यापार वृद्धि गर्ने, आन्तरिक एवं बाह्य पर्यटकहरूलाई स्थान परिचय गराई ग्रामीण पर्यटनको प्रवर्धन गर्दै ग्रामीण जनताको आय आर्जनमा वृद्धि गरी गरिबी निवारणमा सहयोग पु¥याउने महोत्सवले उद्देश्य राखेको पौडेलले बताउनुभयो ।

गुल्मी जिल्लाका घरेलु, हस्तकला उद्यमीहरूका उत्पादनहरूको बजारीकरणमा सहयोग गर्ने, गुल्मी जिल्लाका कला, संस्कृति, भेषभूषा र प्रतिभाहरूको पहिचान गरी संरक्षण सम्वर्धन र प्रवर्धन गर्ने, एकै थलोमा नगरपालिकाका तथा जिल्लाका ९३ वटै वडाका आ–आफ्ना पहिचानहरुको प्रदर्शन समेत गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा झण्डै ८० हजार धेरैले अवलोकन गर्ने समेत अध्यक्ष पौडेलले बताउनुभयो ।

महोत्सवमा मुख्य प्रायोजकका लागि ५ लाख, प्रायोजकका लागि २ लाख, सह–प्रायोजकका लागि १ लाख र सहयोगी संस्थाका लागि ५० हजार तय गरिएको छ । यस्तै महोत्सवमा कपडा तथा अन्य २५ हजार प्रति स्टल, फाष्टफुड ३५ हजार प्रति स्टल, कृषि प्रदर्शनी स्टल, घरेलु उत्पादन प्रदर्शनी स्टल र स्थानिय पुस्तक तथा पत्रिका प्रदर्शनी निःशुल्क गर्न सकिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

‘गुल्मी जिल्ला ऐतिहासिक धार्मिक प्राकृतिक सांस्कृतिक हिसाबले महत्वपूर्ण रहनुका साथै पर्यटन विकासका लागि प्रयाप्त संभावना रहेको जिल्ला हो ।’ अध्यक्ष पौडेलले भन्नुभयो,–‘अवसरको कमिले लुकेर रहेका संभावना र अवसरलाई उजागर गरि पर्यटन प्रबर्धन तर्फ अग्रसर गराउने र यहाँको व्यवसायिक कारोबारलाई बृद्घि गराउने उद्देश्यले यस संघको आयोजनामा पहिलो पटक २०६८ सालमा प्रथम गुल्मी महोत्सवको आयोजना गरिएको थियो ।’

२०७१ फाल्गुण २२ देखि चैत्र १ गते सम्म तम्घासको चिदीचौरमा दोस्रो गुल्मी महोत्सव तथा कृषि, प्रर्यटन, ब्यापार एवं औधोगिक मेला सम्पन्न गरिएको थियो । २०७४ चैत्र १६ देखि २५ गतेसम्म तम्घासमा तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औधोगिक मेला सम्पन्न गरिएको थियो ।

तेस्रो गुल्मी महोत्सवको वचत रकम मध्येबाट सामाजिक उत्तरदायित्व अन्तर्गत रेसुङ्गा पोखरी क्षेत्र देखी यज्ञशाला सम्म रेसुङ्गा धाममा आउने तिर्थालु भक्तजनहरुलाई आवत जावत गर्न सहज होस् भन्ने हेतुल रेलिङ्ग सहितको सिढि निर्माण कार्य संघबाट करिव १५ लाखको लागतमा सुरुवात गरिएको थियो । गुल्मी जिल्लामा चौथो पटक आयोजना गर्न लागिएको गुल्मी महोत्सवलाई सफल बनाउन सवै बाट पूर्ण सहयोग उपलब्ध गराउनका समेत अध्यक्ष पौडेलले अनुरोध गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका वरिष्ठ उपाध्यक्ष रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ, ताराप्रसाद भुसाल, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, निवर्तमान अध्यक्ष नवराज भुसाल, वर्तमान उपाध्यक्ष रेशम कुँवर लगायत जिल्लास्थित विभिन्न सञ्चार माध्यममा सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन गुल्मी उद्योग वाणिज्य संघका महासचिव ईश्वरी बेल्वासेले गर्नुभएको थियो ।