जानकी साहित्य पुरस्कार कवि ज्ञवालीलाई विभूषित गरिने
किरण पुस्तकालय तम्घास गुल्मीले प्रत्येक वर्ष प्रदान गर्दै आएको जानकी साहित्य पुरस्कारबाट यस वर्ष कवि तथा आख्यानकार रुद्र ज्ञवालीलाई विभूषित गरिने भएको छ । यस वर्षको जानकारी साहित्य पुरस्कारबाट रुरुक्षेत्र गाउँपालिका–२, कोलौदी निवासी कवि ज्ञवालीलाई विभूषित गरिने पुरस्कार छनौट समितिका संयोजक तथा किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थीले जानकारी दिनुभयो । प्रेस विज्ञप्ति जारी गर्दै पन्थीले उक्त पुरस्कार आगामी मोतिजयन्तीका अवसरमा प्रदान गरिने जानकारी दिनुभयो ।
२०२० साल कार्तिक १ गते जन्मिनुभएका कवि ज्ञवालीका निर्वासन (कथा संग्रह) २०५८, समीक्षा (संयुक्त गीति एल्वम)–२०५९, सपना फल्ने रातहरु (गजल संग्रह)–२०६१, विवरुका कथाहरु(कथा संग्रह)–२०६६, पात्रहरू (कथा संग्रह)–२०७२ प्रकाशित छन् । उहाँ शिद्धहस्त छन्द कविको रुपमा चर्चित हुनुहुन्छ । उहाँका विभिन्न पत्रपत्रिकामा कथा, कविता, गीत, गजल प्रकाशित छन् ।
पुस्तकालयले २०७३ साल देखि जानकारी साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । साहित्यमा कलम चलाउने जानकी ज्ञवाली गौतमको २०७३ साल मंसिर १२ गतेका दिन ३९ वर्षको उमेरमा निधन भएको थियो । पुस्तकालयमा उहाँको स्मृतिमा ज्ञवालीका श्रीमान् शंकरप्रसाद गौतमले उक्त जानकी साहित्य पुरस्कारको स्थापना गरिदिनुभएको थियो । गौतम हाल रेसुङ्गा नगरपालिका कार्यक्रम अधिकृत हुनुहुन्छ ।