भागवण्डा मिलाउन नसक्दा गठवन्धनमा गडवडी, सत्ताका लागि सिद्धान्तलाई तिलाञ्जली

काठमाडौं । सत्ता गठवन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा आदि सबैले महानगरपालिका र उपमहानगरपालिकाका मेयरमा आफ्नो भागवण्डा खोजेपछि गठवन्धनमा गडवडी शुरु भएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दलहरुलाई मिलाउन प्रयत्न गरे पनि आफ्नै जिल्लामा गठवन्धनबीच तालमेल मिलाउन उनलाई समस्या भएको छ ।
उम्मेदवारको तयारी गर्नुपर्ने अन्तिम अवस्था आइसकेकाले कसरी भागवण्डा मिलाउने भन्ने जटिल प्रश्नले नेताहरुलाई चिन्ता थपिएको छ । २०७४ सालको चुनावमा जसले जहाँ जितेको थियो, सोही दललाई स्थानीय तहका प्रमुख र उपप्रमुख पद दिने सहमति भएपनि ती दलहरुभित्रै कार्यकर्ताहरुले विद्रोह गर्ने चेतावनी दिएका छन् ।
भरतपुर महानगरपालिकाको मेयर आफूले नपाएको खण्डमा मेयर र सबै वडाको अध्यक्षमा कांग्रेसले स्वतन्त्र उम्मेदवारी दिने स्थानीय नेताहरुले चेतावनी दिएका छन् । पोखरामा पनि मेयर पद आफ्नै पार्टीले पाउनु पर्ने माग गर्दै काठमाडौं आएका कांग्रेसका नेताहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् ।
यता माओवादीले कुनै पनि हालतमा भरतपुरमहानगर छाड्न नसकिने जनाएको छ । भरतपुरकी मेयर तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालले आफूले भरतपुरमा राम्रो काम गरेको र आफूले अघि सारेका काम अझै अधुरो रहेकाले पनि पुनः दोहोरिन चाहेको बताएकी छिन् । उनले गठवन्धनले आफूलाई सहयोग गर्न विश्वास व्यक्त गरेकी छिन् भने सहयोग नगरे पनि मेयर नछाड्ने माओवादी एक्लैले पनि चुनाव जित्ने चेतावनी दिएकी छिन् ।
त्यस्तै पुष्पकमल दाहालले पनि आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयरमा दोहो¥याउने चाहनासहित आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । भरतपुरको मेयर आफ्नो पार्टीले नपाए कांग्रेससँगै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने दाहालले चेतावनी दिइसकेका छन् । शुक्राबर उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुको बैठकमा दाहालले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको स्वीकारेका छन् ।
बैठकमा दाहालले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दावी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताउँदै गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यवहारिक रुपमा मिलाउन गाह्रो रहेको बताएको एक केन्द्रीय सदस्यले जनाएक छन् ।
कांग्रेससँग सकेसम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा हुने दाहालले बताएका छन् । गठबन्धन सकेसम्म तलसम्म गरेर जाने बताउँदै दाहालले तलबाट आएको रिपोर्ट अनुसार माथिबाट टुंग्याइने दावी गरेका छन । तर कांग्रेस त्यसका लागि तयार छैन । कांग्रेसको विधानले पनि स्थानीय तहको उम्मेदवारी केन्द्रबाट तोक्न नदिने नेताहरु बताउँछन् ।
विगतमा एमालेले जितेका कतिपय सिटमा नेकपा एसले दावी गरिरहेको छ । तर उसको जनाधार कमजोर भएका कारण एमालेले विगतमा पाए जस्तो सफलता नेकपा एसले पाउन नसक्ने भएकाले त्यस्तो दावी स्वीकार्य नहुने अन्य पार्टीका नेताहरु बताउँछन् । भाग खोज्दा आफ्नो पार्टीको धरातल पनि हेर्नुपर्ने कांग्रेसका नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सकेसम्म स्थानीय निर्वाचनमा तालमेल गर्न नहुने र गर्नै परे केन्द्रबाट हस्तक्षेप गर्न नहुने आफ्नो धारणा रहेको बताएका छन् ।
नेपालको राजनीतिमा चुनावी तालमेलको संस्कृति हितकर नभएको भन्दै थापाले स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा मात्र तालमेल हुनुपर्ने दोहोर्याएका छन् । उनले स्थानीय तहको निर्वाचनमा सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने पनि बताएका छन् ।
थापाले एउटा पार्टीको चुनाव चिन्हबाट चुनाव जितेर पाँच वर्ष जनप्रतिनिधि भएको व्यक्ति अहिले टिकट आशामा रातारात दल परिवर्तन गर्नुपनि राम्रो नभएको बताएका छन् ।
दुर्गम मानिएको कर्णाली प्रदेशमा समेत गठनवन्धनका दलहरुबीच उम्मेदवार छान्न सकस परेको छ । तालमेल मिलाउन व्यस्त रहेका नेताहरुले चुनावमा जनता समक्ष प्रस्तुत गर्ने आफ्नो पार्टीको धारणा भन्दा आन्तरिक व्यवस्थापनमा बढी खर्च गर्नुपरिरहेको देखिन्छ । आआफ्ना अडानमा रहेका दलले धेरै जिल्लामा समस्या उत्पन्न भएको रिपोर्ट दिएका छन् ।
छुट्टाछुट्टै राजनीतिक ध्रुवको मान्यता बोकेका माओवादी र कांग्रेस पञ्चतन्त्रको कथामा बर्णित भारन्डी चरा झै एउटा शरिर र दुई वटा मुख भएको अवस्थामा उभिएका छन् ।
नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई हँसिया हथौडालाई प्रिय मान्न दिएको निर्देशन उत्तिकै चाखलाग्दो छ । सैद्धान्तिक धरातलका हिसावले कांग्रेस र माओवादीबीच कार्यगत, विचारगत र रणनीतिक एकता हुन सक्ने कुनै आधार देखिदैन । तर चुनाव जित्नका लागि दलहरुले जे पनि गर्छन भन्ने आरोपलाई अहिले उनीहरुले पुष्टि गरिरहेका छन् ।
यस्तै हिन्दु राष्ट्रको माग गर्दै आएको कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र क्रिश्चियन धर्म प्रचारक एकनाथ ढकाल नेतृत्वको परिवार दल केपी ओली नेतृत्वको कम्युनिष्ट पार्टीको चुनाव चिन्ह सूर्य अन्तर्गत चुनाव लड्न तयार भएको घटनाक्रमले पनि नेपाली राजनीति विकृत बन्दै गएको देखिन्छ ।
यस्तो अपवित्र गठवन्धनले प्रश्रय पाउँदै गएमा संसदीय चुनावसम्म पुग्दा कुन राजनीतिक दलको सिद्धान्त के हो भन्ने कुरा पनि हराएर जाने केही विश्लेषकहरुको तर्क छ । आदर्शविहीन, नीतिविहीन र सिद्धान्तविहीन बनिरहेको राजनीतिले सत्ताकै वरीपरी प्रदक्षिणा गर्दा कार्यकर्ताहरुमा घृणा पलाएको देखिन्छ । यसले भोलि कुनै पनि राजनीतिक प्रणालीप्रति आस्था नरहने अवस्था रहन सक्छ । त्यसबेला आस्थाविहीन क्रान्ति (फेथलेस रेभ्युलेसन) हुने सम्भावना देखिन्छ ।
कांग्रेस, माओवादी, एमाले जस्ता मुख्य दलहरु स्थानीय चुनावलाई नै संसदीय चुनावको धरातल मानेर प्रतिष्ठाको विषय बनाइरहेका छन् । यो स्थितिमा नेताहरुले जतिसुकै मिलाउन खोजेपनि स्थानीय तहको झमेला न्यून हुने छाँटकाँट देखिदैन ।