गुल्मीको इस्मामा माध्यमिक तहसम्म निशुल्क शिक्षा दिइने

गल्मीको इस्मा गाउँपालिकाले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो । गाउँ कार्यपालिकाको पहिलो बैठकले यस गाउँपालिका भित्र अध्ययन गर्ने विद्यार्थीहरुलाई माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिइने उल्लेख गर्नुभयो ।

साथै गाउँपालिकामा टपरी उद्योग स्थापना समेत गरिने बताउँदै अध्यक्ष खड्काले प्रत्येक वडामा विद्युत र खानेपानीलाई व्यवस्थित गर्नका लागि कर्मचारी समेत खटाइने बताउनुभयो । कृषि र पशु सेवा केन्द्र स्थापना गर्ने उहाँको भनाइ छ ।

‘शीघ्र सेवा ः तीव्र विकास’ भन्ने अवधारण अनुरुप नागरिकको सहजताको लागि कार्यालयमा साहयता कक्ष स्थापना गरिने खड्काले बताउनुभयो । यसका लागि कर्मचारी पदपूर्ति गर्न छिट्टै विज्ञापन गर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले हस्तिचौरमा प्रहरीचौकी निर्माणका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ । खड्काका अनुसार विपद् न्यूनीकरणका लागि पूर्वतयारी सम्बन्धि महत्वपूर्ण निर्णयहरु गरिएको छ । सडक÷कुलो मर्मतका लागि लेन्थवर्करको व्यवस्था गरिने गाउँपालिकाले निर्णय गरेको छ । बैठकले गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ ।

साथै यसपटक गाउँपालिकामा न्यायिक इजलासको स्थापना गर्ने निर्णय समेत भएको अधिवक्ता समेत रहनुभएकी गाउँपालिका उपाध्यक्ष कुँवरले बताउनुभयो । उहाँले न्यायका लागि गाउँपालिकामा आउने सर्वसाधारणसँग बसेर कुरा गर्ने समेत ठाउँ नभएकोले न्यायिक इजलासको स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो ।

बैठकले विभिन्न विषयगत समिति समेत गठन गरेको छ । गाउँपालिकाको संस्थागत विकास, सेवा प्रवाह र सुशासन समितिको संयोजकमा कार्यपालिका सदस्य राजु बस्नेत र सदस्यहरुमा धनबहादुर कुँवर, रेनुका सारु रहनुभएको छ । विधेयक समिति संयोजकमा कार्यपालिका सदस्य बसन्त सुनार तथा सदस्यहरुमा टिका कुँवर र सुनिता बिक रहनुभएको छ ।

त्यस्तै, आर्थिक विकास समितिको संयोजकमा १ नम्बर वडाका अध्यक्ष शेरबहादुर कुँवर र सदस्यहरुमा देविराम घिमिरे, खगिश्वरा पोखरेल रहनुभएको छ । सामाजिक विकास समितिको संयोजकमा ६ नम्बर वडाका अध्यक्ष ढालबहादुर कुँवर र सदस्यहरुमा चित्रकला सुनार, बसन्त घर्ती रहनुभएको छ ।

पूर्वाधार विकास समितिको संयोजकमा ५ नम्बर वडाका अध्यक्ष झविन्द्र अर्याल र सदस्यहरुमा गोपाल बिक, रेनुका बिष्ट रहनुभएको छ । साथै वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा २ नम्बर वडाका अध्यक्ष लोकनाथ आचार्य र सदस्यहरुमा जङ्ग बहादुर खत्री र नरमाया बिक रहनुभएको छ । त्यस्तै, गाउँपालिकाको न्यायिक समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर संयोजक र सदस्यहरुमा शेरबहादुर कुँवर, ढालबहादुर कुँवर रहनुभएको छ ।

त्यस्तै राजस्व परामर्श समितिको संयोजकमा पनि गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर र सदस्यहरुमा झविन्द्र अर्याल र रेनुका बिष्ट रहनुभएको छ । श्रोत अनुमान समितिको संयोजकमा गाउँपालिका अध्यक्ष भगत सिंह खड्का र सदस्यहरुमा पार्वती कुँवर, डोलबहादुर सार्की, शेरबहादुर कुँवर, ढालबहादुर कुँवर, लोकनाथ आचार्य रहनुभएको छ ।