सेयरबजार सुधारका लागि सडकदेखि सदनमा समेत माग
काठमाडौं । सेयर बजार सुधार गर्नु भन्दै सेयर बजार लगानीकर्ताहरुले आन्दोलन शुरु गरेका छन् भने सांसदहरुले यसको सुधारका लागि सरकारसँग माग गरेका छन् ।
सरकारद्वारा संसदमा प्रस्तुत बजेटको छलफल भाग लिदैं एमालेका सांसद योगेश भट्टराईले बिना अध्ययन शेयर धितो कर्जाको सीमा हेरफेर गर्ने कुरा उपयुक्त नभएको बताए । धितोपत्र सुधारका लागि सरकारले गठन गरेको समितिमा लगानीकर्तालाई पनि समावेश गर्नुपर्नेमा उनले जोड दिए । भट्टराईले अहिलेको बजेटमा सरकारले पुँजीकरणलाई प्राथमिकतामा नराखेको जिकिर गरेका छन् ।
यता पूँजीबजार सुधार गर्न सरकारले ध्यान नदिदा यस क्षेत्र नै धरासयी भएको भन्दै सेयर लगानीकर्ताहरुले शुक्रबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म बिरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले बजारमाथिको अनावश्यक हस्तक्षेप बन्द गर, सिसिडी रेसियो कामय गर, सेयर धितो कर्जामा जोखिम भार कम गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । पुँजी बजार सुधारका लागि नियमनकारी निकायहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको उनीहरुको आरोप छ ।
पूजीबजार सुधारका लागि आफुहरुले ध्यानाकर्षण पत्र बुझाइसकेको अवस्थामा सरकारले कुनै कदम नचाले असार १ गते कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ । लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै आइरहेका छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । अब यो व्यवस्था खुकुलो बनाउनुपर्ने माग लगानीकर्ताको छ ।
कर्जा–स्रोत अनुपात (सीसीडी रेसियो) खारेज गरी कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गरिएकोमा अब पुनः सीसीडी रेसियो नै काम गर्न पनि लगानीकर्ताले माग गरेका छन् ।
भारित औसत दर १५० प्रतिशत रहेकोमा त्यसलाई १०० प्रतिशतमा झार्न पनि उनीहरुले माग गरेका छन् । नेपाल राष्ट्र बैंकले सेयर बजारमा जोखिमको भारित औसत दर बढाएको थियो ।
१५ जेठमा सरकारले घोषणा गरेको बजेटले सेयर बजारलाई प्रत्यक्ष लाभ हुने गरी सम्बोधन हुन नसक्दा त्यसयता हरेक दिन बजार घटिरहेको छ । बुधबार केही सम्हालिएको सेयर बजार बिहीबार र शुक्रबार लगातार ओरालो लागेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बुधबार धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूँजीबजारलाई सुदृढ र बलियो बनाउन आगामी आव २०७९÷८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरिएको बताएका थिए ।