मनु सुनार मनसुन | बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
रैथाने वालीको परिकार प्रवद्र्धन गर्न होमस्टे
गुल्मी, असार २७ गते । गुल्मीमा रैथाने वालीको परिकार प्रवद्र्धन गर्न होमस्टे सञ्चालन गरिएको छ । रेसुंगा नगरपालिका–१३ उपल्लो भंगारीमा विगत तिन वर्ष देखि रैथाने वालीको परिकार प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेसुंगा होमस्टे सञ्चालन गरिएको हो ।
सदरमुकाम तम्घास देखि पूर्वतिर पर्ने यस स्थानमा दुई पाङग्रेमा हुक्किएर जाँदा १५ मिनेटमा पुग्न सकिन्छ । तम्घास देखि पैदल यात्रा गर्दै प्राकृतिक छटासंगै रमाउँदै जाँदा एक घण्टामा यहाँ पुग्न सकिन्छ । होटस्टे नजिकै भुवनेपार्क रहेको छ । आकर्षक रुपमा तयार हुँदै गरेको भुवनेपार्कको अवलोकन समेत यहाँ पुगेपछि गर्न सकिन्छ ।
यो वस्तीमा मगर समुदायको बाहुल्यता रहेको छ । मगर भेषभुषा, कला, संस्कृतिले समेत भरीपूर्ण छ । रैथाने वालीद्वारा बनाइएका मगर परिकारको भिन्ना–भिन्नै स्वाद यहाँ गएपछि पाउन सकिन्छ । कोदोको सेलरोटी, फापरको सेलरोटी, बटुक रोटी, सिस्नुको साग, टिमुरको अचार, लोकल जातका कुखुरा, झिलगींको बिरम्ला, मकै, भट्ट, लगायतका दर्जनबढी रैथाने वालीको स्वाद चाख्न पाइने रेसुंगा होमस्टेका संयोजक यज्ञमूर्ति थापा श्रीसले बताउनुभयो ।
वडा सदस्य समेत रहनुभएका श्रीसका अनुसार होमस्टेमा पाहुनाहरुको स्वागतका लागि स्थानीय मगर संस्कृति झल्कने सांस्कृति कार्यक्रम, घाटु नाँच, सोरठी नाँच, सालैजो, सुनिमया भाका लगायतका पुराना प्रचलित भाकामा गाउँने र नाँच्ने गरिन्छ । होमस्टेको अगुवाई यज्ञमूर्तीले गरिहनुभएको छ । होमस्टे सञ्चालनका लागि त्यहाँका युवाहरु उत्साहित समेत भएका छन् ।
रेसुंगा होमस्टे सञ्चालनको अवाधारणका कारण बसाईसराई समेत रोकिएको श्रीसको भनाइ छ । होमस्टेमा आकर्षित भएपछि वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या पनि घटेको उहाँले बताउनुभयो । होमस्टे सञ्चालनका लागि निर्माणाधीन भवनले रकम अभावका कारण पूर्णता पाउन सकिरहेको छैन् । त्यहाँ पुग्नका लागि सडकको सहज पहुँच र सुविधा नहुँदा समस्या छ ।
वडाअध्यक्ष हुमबहादुर बस्नेतले होमस्टेमा आउने सडक तथा आवश्यक पूर्वाधार निर्माणमा केन्द्र र प्रदेश सरकारबाट पनि सहयोग प्राप्त भए होमस्टेलाई दिगो रुपमा पर्यटन प्रवद्र्धनसँगै आय–आर्जनको राम्रो स्रोत बनाउन सकिने बताउनुभयो ।
हालैमात्रै रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी सहितको टोलीले रेसुंगा होमस्टेको अवलोकन थियो । नगरप्रमुख पन्थीले स्थानीय पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाबाट आवश्यक बजेट नै विनियोजन गर्ने बताउनुभयो ।