अस्पतालको बेडमा मृत्युसँग लड्दै खत्री, परिवारद्वारा सहयोगको याचना

    गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्री अहिले जीवन–मरणको  दोसाँधमा हुनुहुन्छ । ४७ वर्षीय खत्रीको दुवै मृगौलाले काम गर्न छोडेपछि अस्पतालको बेडबाट जीवन बचाँइदिन भन्दै सहयोगको याचना गर्नुभएको छ । एक महिना अघि खत्रीको एक्कासी रक्तचाप बढ्यो । विगत १२ वर्ष देखि भारतको मुम्बईमा रोजगारको सिलसिलामा आउने–जाने गर्नुभएका खत्रीको उच्चरक्तचापको नियन्त्रणका लागि डाक्टरले शल्यक्रिया गरे । तर पनि उच्चरक्तचाप नियन्त्रणमा आउन सकेन् । 

  अन्ततः मृगौलाको जाँच गर्दा दुवै मृगौला फेल भएको पत्ता लाग्यो । खत्रीको अहिले भारतको मुम्बई स्थित सन्जीवनी भीडलाइट मेडिप्वइन्टमा डायलासिस भइरहेको छ । डाक्टरले उनको मृगौला प्रत्यारोण गर्नुपर्ने बताएका छन् । तर घरको आर्थिक अवस्था कमजोर छ । अहिलेसम्म ६ लाख भन्दा धेरै खर्च भइसकेको छ । मृगौला प्रत्यारोपणका लागि अझै २० लाख भन्दा बढी खर्च लाग्ने डाक्टरको भनाइ छ । 

भारतको एक होटलमा मजदुरी गरि परिवारको विहान–साँझको हातमुख जोड्दै आएका खत्रीको मृगौला फेल भएपछि यता परिवारको विचल्ली भएको छ । उता खत्री आफै अस्पतालको बेडमा मृत्युसँग लडिरहनुभएको छ । उहाँले भन्नुभयो,–‘म बाँच्न चाहन्छु । घरमा भर्खरै हुर्कदै गरेको सानो छोरा छ । उसको सहाराका लागि पनि मलाई बचाइँदिनुहोस् ।’ खत्रीले आर्थिक सहयोग गरि ज्यान बचाईदिन अनुरोध गर्नुभएको छ ।

घरको कमाउने मान्छे नै मृगौला फेल भइ ढलेपछि परिवारलाई थप आर्थिक संकट परेको छ । खत्रीको कमाइले नै परिवारको लालनपालन हुँदै आएको थियो । तर मृगौला फेल भइ काम गर्न छोडेपछि परिवारले आर्थिक सहयोगको याचना गर्नु परेको खत्रीकी श्रीमती रिना खत्रीले बताउनुभयो ।

खत्रीको परिवार तीनजनाको रहेको छ । घरमा १४ वर्षका एक छोरा र एक श्रीमती रहनुभएको छ । छोराको शिक्षा–दिक्षा, श्रीमती र परिवारको आर्थिक संकट टार्न प्रदेशिएका खत्री यतिबेला जीवनमरणको दोसाँधमा रहेका छन् । खत्रीको उपचारका लागि आर्थिक सहयोग गर्न दिलकुमारी खत्रीको मोबाइल नम्बर ९८४७४२१२२४ र विष्णु गौतमको मोबाइल नम्बर ९८४०६७०२५० मा सम्पर्क गर्न सकिनेछ । भने प्रभु बैङ्कमा रहेको विष्णुकला खत्रीको खाता नम्बर १०५०१९४६६७९०००१९ मा सिधैं रकम जम्मा समेत गर्न सकिने परिवारजनले जनाएका छन् ।