मतदाता नामावलीमा दावी विरोध गर्न सकिने
निर्वाचन कार्यालय गुल्मीले मतदाता नामावलीलाई वैद्यानिकता दिने उद्देश्यले दावी विरोध गर्न सुचित गरेको छ । मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनका लागि जिल्लाभरका अन्तिम मतदाता नामावली तयार पार्नका लागि जिल्ला निर्वाचन कार्यालयले एक साताका लागि दावी विरोध गर्न सकिने व्यवस्था गरेको हो ।
निर्वाचन कार्यालय गुल्मीले बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्वाचन अधिकारी माया कुँवरले यही भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने बताउनुभयो ।
कुँवरले झुटा विवरण भएका, एकभन्दा बढी स्थानमा नामावली भएका, मृत्यु भएका व्यक्ति लगायत त्रुटी सच्चाउने र एउटै वडाभित्रका अपायक स्थानमा मतदान केन्द्र भएमा पायक पर्ने स्थानमा सार्न सकिने गरी दावी विरोध गर्न सकिने जानकारी दिनुभयो ।
नागरिकता त्याग गरेका र उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका समेत मिल्ने उहाँले बताउनुभयो । दावी बिरोधका लागि जिल्ला निर्वाचन कार्यालयमा जानकारी÷ उजुरी गर्न र सबै पालिकामा मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गुल्मीमा स्थानीय तहको निर्वाचनसम्म २ लाख २४ हजार २ सय ७६ मतदाता रहेका थिए । अहिले यस जिल्लामा मतदाताको संख्या २ लाख ३० हजार ३२४ रहेको जिल्ला निर्वाचन अधिकारी कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुल्मी क्षेत्र नं १ को प्रदेश ‘क’ मा मतदाताको संख्या ५९ हजार ६ सय ४३ रहेको छ । प्रदेश ‘ख’ मा ६३ हजार ५ सय २७ रहेको छ । यसैगरी क्षेत्र नं २ को प्रदेश ‘क’ मा मतदाताको संख्या ५३ हजार १५९ र प्रदेश ‘ख’ मा मतदाताको संख्या ५३ हजार ९९५ रहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरिलाल गैरे, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीम बहादुर दाहाल तथा जिल्लास्थित राजनीतिक दलहरु, स्थानीय पालिका प्रमुख प्रशासकीय अधिकृत, संघसंस्थाका प्रमुखहरु सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुख लगायतको सहभागीता थियो ।