निर्वाचनका लागि भारतद्वारा दुई सय सवारी साधान सहयोग

काठमाडौं । भारत सरकारले आसन्न निर्वाचनका लागि नेपाल सरकारलाई उपहारस्वरुप दुई सय वटा सवारी साधन प्रदान गरेको छ ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट सवारीसाधन उपहारस्वरुप हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गरिएका सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुग्ने भारतीय दुतावासले जनाएको छ । सवारी साधन हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री शर्माले सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो । उहाँले निर्वाचनले लोकतन्त्रलाई सुदृढका साथै आर्थिक सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनभयो ।
त्यस्तै भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको सहयोगले नेपालको चूनावी कार्यक्रममा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा पनि नेपाललाई भारतको निरन्तर सहयोग हुने उहाँले बताउनुभयो ।
नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सवारीसाधन चुनावका दौरान प्रयोग गरिने छ जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने दुतावासले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।