एमालेको चुनावी घोषणापत्र : पाँच वर्षमा २० काम गर्ने ग्यारेन्टी

एमालेको घोषणापत्र जनता छक्याउने नभइ देश विकासको मार्गचित्र भएको अध्यक्ष ओलीको दावी

काठमाडौं । नेकपा एमालेले आगामी पाँच बर्षको लागि बिभिन्न २० वटा कामको ग्यारेन्टीसहितको चूनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणा पत्रमा एमालेले आफ्नो नेतृत्वमा सरकार गठन भए समृद्धिका लागि नीतिगत र संरचनागत सुधार, राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने जनाएको छ ।
त्यस्तै सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने उल्लेख गरिएको छ भने कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार, सबै पालिकामा खाद्य भण्डार स्थापना, सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने लक्ष्य एमालेले राखेको छ ।
त्यस्तै घोषणापत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आय आर्जनमार्फत् खाद्यसुरक्षा प्रदान गर्ने, ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, ‘पूर्णसाक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने लगाएत उल्लेख छ । घोषणापत्रमा उल्लेख ग्यारेन्टीहरुको एमालेको सरकारसंग भुक्तानी सकिने अध्यक्ष केपी ओलीले बताउनुभयो । घोषणापत्र सार्वजनिक कार्यक्रममा गरिएको लाइभ डिवेटमा ओलीले २०७४ को चुनावपछि एमालेको सरकार बनाउन नदिन सुरुमै गम्भीर षडयन्त्र भएको धारणा राख्नुभयो ।


त्यस्तै उहाले केही पार्टी र नेताले एमाले नेतृत्व सरकारको विरोध गरेपनि विश्वले प्रशंसा गरेको दावी गर्नुभयो । एमालेको घोषणापत्र जनता छक्याउने नभइ देश विकासको मार्गचित्र भएको उहाँको भनाई छ ।
त्यस्तै एमालेले ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने लक्ष्यसहित सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख गरेको छ भने व्यवस्थित सहरः स्वच्छ र हरियाली बस्तीको अवधारणा कार्यान्वयन गर्ने, सरल, सहज सार्वजनिक सेवा को प्रबन्ध गर्ने, प्रतिव्यक्ति आय दोब्बर गर्ने एमालेले जनाएको छ ।
त्यस्तै ताजा जनादेशका लागि जनताका बिचमा जाने विषयलाई ‘प्रतिगमन’ र असंवैधानिक एवं असंसदीय तरिकाबाट परमादेशमार्फत सरकार बनाउनलाई अग्रगमनको जनविरोधी भाष्य निर्माण गर्ने कुप्रयास गरिएको तथा गठबन्धनका नाममा राजनीतिलाई असाध्यै विकृत, नीतिविहीन र सत्तास्वार्थको बन्दी बनाइएको एमालेको घोषणापत्रमा उल्लेख छ ।