आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकका लागि दुर्भाग्य हुन्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताउनुभएको छ ।
नेकपा एमाले काठमाडौं क्षेत्र नंवर १ निर्वाचन परिचालन कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई अघि बढाउन एमाले सुदृढ राष्ट्रिय एकल शक्तिको रुपमा आउनै पर्ने भन्दै त्यसो हुन नसके मुलुकमा दुर्भाग्य हुने बताउनुभएको हो ।
परमादेश लिएर किर्ते ढंगले सरकार बनाएकाहरुले पुन सरकार बनाए मुलुक अप्ठेरोमा जाने उहाको भनाई छ । ओलीले परमादेशी सरकार बनाएदेखि नै अदालत बेहाल अवस्थामा रहेको जिकिर गर्नुभयो । उहाले आगामी निर्वाचन महासंग्राम भएको भन्दै प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने बताउनुभयो । गठबन्धनसंग देश बिकासको कुनै लक्ष्य र उदेश्य नै नभएको उहाको भनाई छ । उहाँले अहिले पनि गठबन्धनमा रहेका केहि दलहरु निर्वाचनपछि सरकारमा जान च्याखे थापेर बसेको बताउनुभयो ।
अध्यक्ष ओलीले यसअघिको एमाले सरकारले मुलुकमा असाधारण बिकास गरेको दावी गर्नुभयो । ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको समेत बताउनुभयो । उहाँले अहिले पनि बिरोधीहरु एमाले सरकारले बनाएको धरहरा देखेर तर्सिने गरेको तर्क गर्नुभयो ।
त्यस्तै एमाले अध्यक्ष ओलीले सवै दल र नेताहरुलाई एकै जस्तो गरेर भष्टचारी, बिकास बिरोधी भनेर प्रचार हुने गरेको भन्दै आपत्ती जनाउनुभयो । मुलुकका जनताहरु सचेत रहेकाले मुलुकको हितमा काम गर्ने पार्टी एमालेलाई बिजयी गराउने उहाँको भनाई छ ।