माओवादीलाई भोट नहाल्ने कांग्रेस नेता–कार्यकर्ता एमालेमा प्रवेश गराउने अभियान चलाऔं : गुरुङ

दोलखा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङले दोलखामा माओवादी केन्द्रका उम्मेद्वारलाई हँसियाहथौडामा भोट नहाल्ने कांग्रेसका लोकतन्त्रवादी नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने अभियान चलाउनुपर्ने बताउनुभएको छ ।
जिल्ला पार्टी कार्यालय, दोलखामा विहिबार कांग्रेस गौरीशंकर गाउँपालिका सचिव अर्जुन ओली र साविक मार्वु गाविसको सिंगो गाउँ कमिटीलाई एमालेमा प्रवेश गराउँदै पूर्व मन्त्री गुरुङले त्यस्तो बताउनुभएको होे ।
‘दोलखामा धेरै इमान्दार लोकतन्त्रवादी, हिंसा नरुचाउने साथीहरु हुनुहुन्छ, उहाँहरुले माओवादीका उम्मेद्वारहरु हसियाँ हथौडामा भोट हाल्ने मनस्थितिमा हुनुहुन्न’, गुरुङले भन्नुभयो,‘त्यस्ता साथीहरुलाई लोकतान्त्रिक पार्टी एमालेमै स्पेस र भविष्य छ, त्यसैले हामीले सबै गाउँ र वडाहरुमा कांग्रेसका नेता–कार्यकर्ता प्रवेश अभियान चलाउनुपर्छ ।’
पार्टी प्रवेशले दोलखामा एमालेको वर्चश्व रहेको कुरा पुर्नस्थापित भएको भन्दै उहाँले यसले ४ मंसिरको निर्वाचनमा पार्टीको विजयलाई थप सुनिश्चित गरेको पनि प्रष्ट्याउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य रचना खड्का, सरस्वती बस्नेत, प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिबाकोटी, प्रदेशसभाका उम्मेद्वारहरु नरबहादुर श्रेष्ठ, भरतबहादुर केसीलगायत सहभागी हुनुहुन्थ्यो ।