विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारी र लगानीको वातावरण एमालेले बनाउँछ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरुले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्द सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन एमालेले चाहेको बताउनुभयो । विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नीति एमालेले बनाइरहेको उहाँले बताउनुभयो । एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै संघर्ष गर्नुपरेको स्मरण पनि गर्नुभयो । संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उहाँले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने धारणा राख्नुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह पनि गर्नुभयो ।