आगामी निर्वाचनले देशलाई कता लाने भन्ने फैसला गर्छ : ओली

एमालेले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनले देशलाई कता लाने भन्ने फैसला गर्ने बताउँदै राष्ट्रियता र विकासवादी एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।
कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फुटेको हाँडीजस्तो जोडेर बनाइएको कठपुतली सत्ता गठबन्धनले एमालेविरुद्ध गलत प्रचार गरे पनि जनताले विश्वास नगर्ने बताएका छन् ।
एमालेविरुद्ध पहिले देखि नै विरोधीहरुले गलत प्रचार गर्ने गरेको बताउँदै ओलीले भने “६० वर्षमाथिकालाई एमालेले गोली हानेर मार्छ भन्ने विरोधीहरुले भ्रम फैलाइएा थिए । तर, हामीले घरघरमा पैसा पुर्‍याउने काम गरेपछि उनीहरु आत्तिए । महिनाको सय रूपैयाँबाट सुरू गरेको भत्ता अहिले ४ हजार पुर्‍याएका छौँ । यसलाई समयअनुसार बढाउँदै जान्छौं ।”
वृद्धभत्ताले गरिबी र अप्ठ्यारो ठाउँमा ठूलो राहत मिलेको बताउँदै ओलीले ज्येष्ठ नागरिकलाई सम्झिएर वृद्धभत्ता बाँड्दा विरोधीहरू आत्तिएको बताए । सडकमा फालिएका बालकालिकसमेत एमालेले संरक्षण गरेको ओलीले बताएका छन् ।


ओलीले पूर्व–पश्चिम राजमार्ग र रेल निर्माण सुरू गरेको बताउँदै भारतसँग मात्रै निर्भर रहेको अवस्थालाई अन्त्य गर्दै चीनतिरबाट पनि बाटो खोलेर यातायात र पारवहन सम्झौता गरेपछि नाकाबन्दी लाग्नै नसक्ने अवस्थामा देशलाई एमालेले पुर्‍याएको बताए । जसले गर्दा एमाले विरोधीहरु झन् आत्तिएको उनले बताएका छन् ।
अध्यक्ष ओलीले आफूले सार्वभौम सत्ता बराबरी हुने भएकाले कसैसँग पनि शिर नझुकाइ काम गरेको दावी गरेका छन् ।
सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गर्नु परेको प्रष्टिकरण दिँदै ओलीले भने –
‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्‍यो रे, माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमति तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे ।’
केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए । ओलीले त्यसको जवाफ दिँदै भने, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्‍यो रे । मैले प्रतिगमन गर्ने काम कहिलै गरेको छैन ।’