आचारसंहिता पूर्णरुपमा लागू गर्ने सरोकारवालाहरुको प्रतिवद्धता
भैरहवा । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।
आईतवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले भैरहवामा आयोजना गरेको शान्त, स्वच्छ र निष्पक्षको लागि हाम्रो अभियान विषेयक साक्षात्कारमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश कृष्ण कोईरालाले जिल्लामा आचारसंहिताका उजुरी खासै ठूला नआएको र सामान्य किसिमका आएकाले दलहरुलाई बोलाएर सम्वादका मार्फत सुल्झाएको बताउनुभयो । उहाँले पहिले हुने निर्वाचनमा लागू भएका आचारसंहिताका बुँदाहरुलाई दलहरुले कार्यान्वयन गरेको तर नयाँ थप भएका केही बुँदाहरुलाई पालना नगरेको पाईएपछि दलका प्रमुखहरुलाई ध्यानाकर्षण गराएको जनाउनुभयो ।
त्यस्तै कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्वाचनलाई भयरहित बनाउनका लागि जिल्लामा चारै तहका सुरक्षा निकायहरुलाई सतर्क बनाएको उल्लेख गर्नुभयो । आगामी निर्वाचनलाई बहिष्कार गर्न घोषणा गरेका दलहरुको प्रभाव जिल्लामा शुन्य पार्ने भएकाले ढुक्क भएर मतदान गर्न उहाले आह्वान गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले रुपन्देहीमा १ हजार ७ सय जनपथ प्रहरी, सशस्त्र प्रहरी ८ सय ८८, म्यादी प्रहरी १ हजार ३ सय ९५, ८ हजारभन्दावढि कर्मचारी र सेनालाई आवश्यकता अनुसार प्रयोग गरिने जानकारी दिनुभयो । जिल्लामा २ सय १३ मतदान स्थल, ७ सय ६ बुथ केन्द्र तोकिएको छ ।