एमालेले आचारसंहिता उल्लंघन गर्दा आयोगले बेवास्ता गरेको कांग्रेसको आरोप
एमालेले जारी गरेको चुनावी घोषणा पत्र सपना पोको
काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एमाले)ले खुलेआम निर्वाचन आचारसंहिताको उलंघन गरेको आरोप लगाउँदै कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेको छ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आचारसंहिताको खिलापमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाहरुको दुरुपयोग गर्ने काम गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको भन्दै आक्रोश पोख्नु भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले नेपाली कांग्रेसले निर्वाचन आचारसंहिताको अक्षरसः पालना गरिरहेको जिकीर गर्दै भन्नुभयो ‘म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु कि जुन आचारसंहिता बनाउनु भएको छ । त्यसको हामीले अक्षरसः पालना गरेका छौं। तर जहाँ खुलेआम कुनै पनि बेला गर्न नमिल्ने संस्थाहरुको प्रयोग गरेर दुरुपयोग एमालेले गरेको जगजाहेर छ। निर्वाचन आचारसंहिताको खिलापमा प्रलोभन दिने, विभिन्न संस्थाहरुलाई दूरुपयोग गर्ने जुन प्रवृत्ति छ। त्यसलाई निर्वाचन आयोगले तत्काल निगरानी गरोस्। र, कारबाही गरोस् भनेर निर्वाचन आयोगसँग माग गर्न चाहन्छु।’
उहाँले एमालेले जारी गरेको चुनावी घोषणा पत्रमा सपना मात्रै बाँडिएको दोहोर्याउनु भएको छ ।