शेखर कोइरालाकै कारण नेपालमा शान्ति सम्भव भएको हो : प्रचण्ड
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय नेपाली कांग्रेसका नेताहरुको प्रशंसा गरिरहेका छन् । यो सिलसिला आज पनि दोहोरिएको छ । उनले आज डा. शेखर कोइरालाको प्रशंसा गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ६ (१) सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछियामा बुधबार सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले शेखरलाई शान्ति प्रक्रियाका एक पात्रको भएको बताएका छन् ।
डा. शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकैले शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको प्रचण्डले बताए ।
मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभातर्फ गठवन्धनबाट डा. कोइराला छन् भने प्रदेशसभा १ को उममेदवार प्रचण्डका ज्वाइँ जीवन आचार्य गठबन्धनबाट चुनावी मैदानमा छन् । उनले प्रदेशसभामा उठेका आफ्ना ज्वाइँ युवा र गतिशील नेता भएको बताउँदै उनको प्रशंसा गरेका छन् ।
प्रचण्डले फेरि प्रतिगमनविरूद्ध आन्दोलन नगर्ने गरी गठबन्धनलाई भोट हाल्न अपिल गरेका छन् ।
नेपाललाई पछि धकेल्नेहरू मिलेर एमाले नेतृत्वको गठबन्धन बनेको बताउँदै प्रचण्डले उनीहरुलाई पराजित गर्नुपर्ने बताएका छन् । वामलोकतान्त्रिक गठबन्धनले आर्थिक समृद्धि ल्याउने र सुशासन पनि कायम गर्ने बताएका छन् ।