गुल्मी २ मा गोकर्ण विष्ट चौथो पटक विजयी
रामकुमारी झाँक्री २ हजार मतले पराजित
काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट फराकिलो मतान्तरले विजयी हुनु भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री २ हजार ३४ मतान्तरले पराजित हुनु भएको छ ।
गुल्मीबाट गोकर्ण विष्ट चौथो पटक निर्वाचित हुनु भएको हो । विष्टले आफ्नै पूर्व सहकर्मी रामकुमारी झाँक्रीलाई पराजित गर्दै आफ्नो विरासत जोगाउनु भएको हो ।
गुल्मी २ मा अन्तिम नतिजा सार्वजनिक हुँदा बिष्टले २८ हजार ४७६ मत ल्याउनु भएको छ भने झाँक्रीले २६ हजार ४४२ मत ल्याउनु भएको छ ।
२०५६ यता ५ वटा निर्वाचन लड्नु भएका विष्ट २०६४ मा पराजित हुनु भएको थियो ।
गुल्मीको इस्मामा जन्मिनु भएका विष्ट २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनु भएको हो । गुल्मी अनेरास्ववियु अध्यक्ष हुँदै २०५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष बन्नु भएको थियो ।
२०६५ मा एमालेको केन्द्रिय सदस्य हुनु भएका विष्ट २०७१ मा केन्द्रीय सचिव हुनु भएको हो । हाल पनि उहाँ सचिव हुनुहुन्छ ।
विष्टले कानुन र व्यवस्थापनमा स्नातक गर्नु भएको छ । विष्ट ऊर्जा र श्रम तथा रोजगार मन्त्रीसहित २ पटक मन्त्री भइसक्नु भएको छ । ऊर्जा मन्त्री हुँदा उहाँले नेपालको जलविद्युतमा ठूलो योगदान पुर्याउनु भएको छ भने विद्युतमा हुन चुहावट नियन्त्रणमा पनि धेरै काम गर्नु भएको थियो । ऊर्जा मन्त्री हुँदा उहाँको सवत्र प्रशंसा भएको थियो ।