पुरानै प्रतिस्पर्धीलाई हराउँदै प्रदेश सभा सदस्यमा एमालेका भुसाल निर्वाचित

गुल्मी । गुल्मीको क्षेत्र नम्बर २ को प्रदेश सभा (१) मा नेकपा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् । भुसालले १४ हजार ९३० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याएका छन् ।
भुसाल र श्रेष्ठ २५ वर्ष अघिकै प्रतिस्पर्धी हुन् । तत्कालीन तम्घास गाविसको अध्यक्ष पदका लागि २०५४ सालमा भुसाल र श्रेष्ठ बीच प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसालबीच प्रतिस्पर्धा भएको थियो ।
०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा भने एमालेका भुसाल निर्वाचत भएका थिए ।
यसपटक पनि प्रदेश सभामा भुसाल विजयी भएका छन् । दुवै जना रेसुङ्गा नगरपालिका वडानम्बर–१ तम्घास निवासी हुन् ।