शर्मालाई पोखरेलको वधाई, मतदाताप्रति आभार
दाङ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले वधाई दिनु भएको छ ।
शर्माले पोख्रेललाई झिनो मनान्तरले पराजित गर्नु भएको हो ।
शर्माले २६ हजार ८७७ मत ल्याउनु भएको छ भने पोखरेलले २६ हजार ६८० मत ल्याउनु भएको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १४ हजार २१५ मत ल्याउनु भएको छ ।
शर्मा विजयी भएपछि पोखरेलले सामाजिक सञ्जालमार्फत उहाँलाई वधाई दिनु भएको छ भने आफूलाई मतदान गर्नेहरुलाई आभार व्यक्त गर्नु भएको छ । पोखरेलले लेख्नु भएको छ “मसंगको प्रतिस्पर्धामा विजयी हुनु भएकोमा रेखा शर्मालाई बधाई । गठबन्धनसंगको एक्लो प्रतिस्पर्धामा मतदाता र शुभेच्छुकहरुले देखाउनु भएको सद्भाका लागि सदैव आभारी रहने छु ।”
निर्वाचित भएपछि शर्माले आम मतदाताका गुनासा सम्बोधन हुने गरी काम गर्ने बताउनु भएको छ । निर्वाचनमा विजयी भएपछि बिहीबार बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उहाँले इमान र निष्ठाका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।