गुल्मी– १ मा कांग्रेस नेता भण्डारी विजयी
गुल्मी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस नेता चन्द्र भण्डारी विजयी हुनु भएको छ । उहाँले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराराउनु भएको हो ।
सत्ता गठवन्धनका उम्मेदवार भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याई विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गर्नु भएको छ । उहाँहरूबीचको मतान्तर १ हजार ५ सय ९२ रहेको छ ।
निर्वाचन घोषणा हुनु अघि नै एमाले उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकार गर्दै लेख्नु भएको छ ‘अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’
यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी-१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित हुनु भएको थियो ।