जितलाई स्वाभाविक प्रक्रियाको रूपमा लिएको छु : डा.भण्डारी
गुल्मी, मङ्सिर ९ गते । गुल्मी निर्वाचन क्षेत्र नम्बर- १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले निर्वाचनमा जित र हार हुने कुरालाई निरन्तर प्रक्रियाको रुपमा लिएको बताउनुभएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपश्चात् सन्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रजातन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया भएको बताउनुभएको हो । मैदानमा उत्रिएपछि कि जित हुन्छ कि हार हुन्छ । यसलाई निरन्तर प्रक्रियाको रुपमा आफुले ग्रहण गरेको बताउनुभयो । यस अघि ०७० सालको संविधान सभा सदस्यमा निर्वाचित हुनुभएका भण्डारीले आफुले सुरु गरेका योजनाहरुलाई पूर्णता दिने बताउनुभयो । उहाँले गुल्मीलाई विकास निर्माणमा नेपालको नमुना जिल्ला बनाउने उल्लेख गर्नुभयो । डहरे खोलामा चार वटा पुलको आवश्यकता रहेको भन्दै त्यसलाई पूर्णता दिने बताउनुभयो । प्रजातन्त्रमा प्रश्न गर्ने नागरिक तयार गर्न सके मात्र यो व्यवस्था सुदृढ बन्ने बताउनुभयो । यसका लागि आफुले गरिब एवम् सीमान्तकृत जनताका छोराछोरीलाई पढाएको उल्लेख गर्नुभयो । गुल्मेली जनताले आशा र भरोसा गरि दिएको एक/एक मतको विकास गरि मूल्य चुकाउने बताउनुभयो । यस जिल्लामा लिफ्टिङ्ग खानेपानी, सडक, पुल आफुले भित्र्याएको बताउनुभयो । अधुरा रहेका विकासका कामहरुलाई अगाडि बढाउने बताउनुभयो । एसियामै नमुना पुल रिडिमा बनाएको बताउदै जिल्लालाई विकासमा नमुना बनाउन भरपुर रुपमा लाग्ने बताउनुभयो । आफ्नो मात्र जित नभएको बताउदै समग्र गुल्मेली जनताको विजयी भएको उल्लेख गर्नुभयो । मङ्सिर चार गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गुल्मी- १ मा नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारी र नेकपा (एमाले) का प्रदीप कुमार ज्ञवालीबीच कडा प्रतिस्पर्धा भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार भण्डारीले ३३ हजार ७४४ मत र ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्नुभएको छ । जहाँ एक हजार ५९२ मतान्तरसहित नेपाली कांग्रेसका भण्डारी निर्वाचित हुनुभएको हो । भण्डारी र ज्ञवाली ०६४ सालदेखी निरन्तर चुनावी प्रतिस्पर्धा गर्दै आउनुभएको छ । ०६४ र ०७४ सालमा भएको निर्वाचनमा यहाँबाट ज्ञवाली निर्वाचित हुनुभएको थियो भने ०७० मा यहाँ स्वयं भण्डारी नै निर्वाचित हुनुभएको थियो ।