नयाँ व्यवस्था, पतिपत्नीले चाहेमा जहिलेसुकै पारपाचुके

काठमाडौं – नयाँ कानुनमा पतिपत्नी दुवैले चाहेमा जहिलेसुकै सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था राखिएको छ। प्रचलित कानुनमा महिलालाई मात्र सीधै अदालत जान पाउने कानुनी व्यवस्था छ।
भदौ १ देखि पारपाचुकेका लागि पुरुष पनि सीधै अदालत जान पाउने व्यवस्था नेपालका लागि नयाँ हो। देवानीसंहिता ऐनमा सम्बन्धविच्छेदमा पति र पत्नी दुवैलाई बराबर अधिकार दिइएको छ । सम्बन्धविच्छेदका लागि निवेदन परे अदालतले भरसक मेलमिलाप गराउनेछ।

प्रचलित कानुनमा पुरुषले सम्बन्धविच्छेद गर्न चाहेमा गाउँपालिका, नगरपालिकामा निवेदन दिएपछि एक वर्षसम्म कुर्नुपर्ने प्रावधान छ। शुक्रबारदेखि कार्यान्वयनमा आउने नयाँ कानुनका तीनवटा प्रावधानमा पुरुषले पत्नीको कुनै मन्जुरी नलिई पारपाचुके गर्न पाउनेछन्। प्रचलित कानुनमा सम्बन्धविच्छेदका लागि महिलालाई मात्र सीधै अदालत जान पाउने कानुनी व्यवस्था छ तर भदौ १ देखि यो व्यवस्था पतिपत्नी दुवैको हकमा लागू हुनेछ। पत्नीले पतिलाई खानलाउन नदिएमा वा घरनिकाला गरिदिएमा र पत्नीले पतिको अंगभंग हुने वा ठूलो शारीरिक, मानसिक कष्ट हुने जालप्रपञ्च गरेमा पारपाचुकेका लागि पुरुष अदालत जान पाउनेछन्।पत्नीले अन्य पुरुषसँग यौनसम्बन्ध राखेको ठहरेमा, पत्नीले पतिको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पुरुष सीधै अदालत जान पाइने कानुनमा व्यवस्था रहेको आजको नागरिक दैनिक समारार छ ।