देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काउनुपर्छ : उपमहासचिव गुरुङ
काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काएर एमालेकै नेतृत्वमा वाम सरकार निर्माणका लागि प्रयास गर्नुपर्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपालले शुक्रवार लमजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी गुरुङलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले चुनावको परिणामले अस्थिर राजनीतिलाई मलजल गरेको भन्दै स्थिरताका लागि वाम एकता आवश्यक भएको बताउनु भएको हो ।
सबैले घेराबन्दी गरेका कारण एमालेले प्रत्यक्षमा कम सिट जिते पनि जनताले लोकप्रिय मत (समानुपातिक) मा पहिलो बनाएको बताउनु भएको छ ।
नामले वाम भएकाहरू अहिले दक्षिणपन्थी गठबन्धनमा रहेको बताउँदै गुरुङले उनीहरूलाई आग्रहपूर्वाग्रह नराखी गठबन्धनबाट बाहिर ल्याउने प्रयास गर्नुपर्ने बताउनु भएको छ ।
६ वटा प्रदेशमा एमाले पहिलो शक्ति रहेपनि प्रत्यक्ष सीटमा क्षति भएकाले लक्ष्यअनुरूप जित्न नसकिएको उपमहासचिव गुरुङले बताउनु भएको छ ।