थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगर अगाडि प्रदर्शन
मेयर वालेन्द्रलाई बुझाए ध्यानाकर्षणपत्र
काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै स्थानीयहरुले महानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् भने कार्यालय अगाडि प्रदर्शन समेत गरेका छन् ।
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिका नाममा भएको प्रदर्शनमा नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर सक्कली सुकुम्वासीको अन्य ठाउँमा व्यवस्थापन र नक्कलीलाई कारबाही गर्न माग गरिएको छ ।
समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई बुझाएको ध्यानाकर्षण पत्रमा ‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि नहटोस’ भनिएको छ ।
समितिले सुकुम्बासी बस्तीमा दिउँसै घरेलु हतियारसहित नगर प्रहरी, महानगर प्रमुखलाई धम्की दिनुले उपत्यकामा त्रास फैलिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ “राजधानी शहरको मुटुमा रहेको थापाथली स्थित वागमती खोलाको किनारामा रहेको सार्वजनिकरसरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित कथित सुकुम्वासीहरुको बसोबासले संगै रहेको खोलाको प्रदुषण, राजधानीको सौन्दर्य समेतमा प्रतिकूल असर पारिरहेको छ । तिनीहरुको अस्तव्यस्त बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगति देखिएको छ। दिउँसै घरेलु हातहतियार देखाउँदा राजधनीमा भयावह, असुरक्षित तथा सन्त्रासमय वातावरण उत्पन्न भएको छ। यसले स्थानीय जनताप्रति गहिरो मानसिक दबाब उत्पन्न भई अशान्ति फैलिई राजधानीमा अमनचैन समेत खलबलिएको छ।”