राष्ट्रपतिलाई भेट्नु भयो सञ्चारमन्त्री कार्कीले

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सञ्चार तथा सूचना प्राविधि मन्त्री ज्ञानेन्द्रबहादुरर कार्कीले भेट गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मध्येमा पर्ने मन्त्री कार्कीले मंगलबार राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नु भएको हो ।
भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे झण्डै ४५ मिनेट कुराकानी भएको र राष्ट्रपति भण्डारीले यस विषयमा चासो राखेको बताइएको छ।
नयाँ सरकार देउवा कै नेतृत्वमा गठन गर्ने प्रयासमा सक्रिय कार्कीले सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता गर्नु भएको थियो ।
सञ्चारमन्त्री कार्कीले राष्ट्रपति भण्डारीलाई वर्तमान सत्तारु दलको सोमबार बालुवाटरमा बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको जानकारी गराउनु भएको स्रोतको दावी छ ।