७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न माग गर्दै औद्योगिक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले वृद्धि गरेको भाडादर तत्काल फिर्ताको माग राख्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आन्दोलनको घोषणा गरेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियम विपरित भाडादर वृद्धि गरेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ताको माग राख्दै आन्दोलनको घोषणा गरेको हो ।
निर्यात प्रवर्द्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकाय नै जिम्मेवारीबाट पन्छिन्दै उद्योगी माथि भार थोपर्ने कार्य गरेको महासंघका अध्यक्ष रामहिरा पाठकले बताएका छन्् । उनले महासंघको सहमति विपरित २०७५ सालमै सञ्चालक समितिले ७ सय प्रतिशतसम्म भाडा बढाएको र अहिले सो कार्यान्वयन गर्ने भन्दै २०७९ साउनमा भाडावृद्धिको लाखौको विल उद्योगहरुमा पठाएको जानकारी दिएका छन् ।
अध्यक्ष पाठकले राज्यले उद्योगलाई बचाई राख्न छुट, सुविधा र सहुलियत दिनुपर्नेमा राज्यवाट सञ्चालित लिमिटेडले उल्टै ७ सय प्रतिशतसम्म भाडा वृद्धि गरी असुल गर्ने निर्णय अमान्य रहेको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।
आफूहरुको मागमाथि सरकारले कुनै सम्बोधन नगरे पहिलो चरणमा यहि मंसिर २५ गतेदेखि महाप्रवन्धकको कार्यकक्ष तथा क्षेत्र व्यवस्थापकको कार्यकक्षमा तालाबन्दी गर्ने उनले चेतावनी दिएका छन् ।
त्यस्तै लिमिटेडलाई कुनैपनि शुल्क तथा रकम भुक्तानी नगर्ने र भाडावृद्धि फिर्ता गर्न माग सहितको कालो व्यानर तथा कालोझण्डा प्रदर्शन गर्दै आन्दोलनमा उत्रिने अध्यक्ष पाठकले बताएका छन् ।