भारतीय राजदूत श्रीवास्तवको अस्वभाविक राजनीतिक दौडधुप

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।
निर्वाचनको मतगणना जारी रहेकै बेलाबाट राजनीतिक भेटघाट शुरु गरेका राजदूत श्रीवास्तावले परिणाम सार्वजनिक भएसँगै तीव्र बनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाबाट भेटघाट सुरू गरेका श्रीवास्तवले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका छन् ।
निर्वाचन आयोगले चुनाव सम्पन्न भएका दुवै तह प्रदेशसभा र प्रतिनिधिसभाको अन्तिम मत परिणाम सार्वजनिक गरे पनि दलहरूले समानुपातिकतर्फ जाने सांसदको सूची अझै बुझाइसकेका छैनन् ।
अहिले गठबन्धन र राजनीतिक दलहरूबीच चुनावी समीक्षा चलिरहेको छ भने नेताहरू नयाँ सरकार गठनका लागि सत्ता समीकरणका विषयमा समेत अनौपचारिक छलफलमा व्यस्त छन् । यहीबेला भारतीय राजदूत श्रीवास्तवको दौडधुप बढेको छ ।
नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्ने गरेको आरोप लाग्दै आएको छ । भारतले निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठनको तयारी भइरहेका बेला भारतीय राजदूतको राजनीतिक भेटघाटले थप आशंका जन्माएको छ ।
बुधबार बिहान करिब ११ बजे एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका श्रीवास्तवले करिब एक घण्टाभन्दा बढी बालकोटमा बिताएका थिए । भेटका क्रममा ओलीसँग राजदूत श्रीवास्तवले चुनावमा विजयी भएको बधाई दिनुका साथै नयाँ सरकार गठनका विषयमा समेत चासो राखेको एमाले स्रोतले बताएको छ । सत्ता समीकरण र सरकार गठन कसरी हुन सक्छ भन्ने जिज्ञासा उनको थियो ।
श्रीवास्तवले एमाले अध्यक्ष ओलीलाई भेट्न जानुअघि बुधबार नै उपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत भेट गरेका थिए । राजदूत श्रीवास्तवले यसअघि प्रधानमन्त्री देउवालाई मात्रै दुई पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक पटक भेट गरिसकेका छन् ।
निर्वाचनको मतगणना जारी रहेकै बेला गत १० मंसिरमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए । प्रचण्डसँगको भेटमा समसामयीक राजनीति र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको थियो ।
सोही दिन बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग एक्लाएक्लै भेट गरेका श्रीवास्तवले १७ मंसिरमा दोस्रो पटक भेट गरेका थिए । दोस्रो भेटमा देउवा डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचनमा निर्वाचित भएकोमा बधाई दिएको बताइएको थियो ।
देउवासँगको भेटबारे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले नियमित भेटघाट भएको र समसामयिक विषयमा छलफल भएको प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको थियो । भेटमा देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट ‘वान टु वान’ छलफल भएको थियो । तर भेटमा के विषयमा छलफल भयो भन्ने अझै सार्वजनिक भएको छैन ।
भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको हुनसक्ने अनुमान गरिएको छ । राजदूतसँग भेट भएको भोलिपल्ट शनिबार बिहानै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।
उक्त भेटमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको बताइएको थियो । त्यसपछि निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै बसेको गठबन्धनका दलहरूको बैठकले अहिलेका गठबन्धनलाई कायम राख्ने निर्णय गरेका छन् ।
माधव नेपाललाई भेट्न पुगे अमेरिकी राजदूत
उता अमेरिकी राजदूत डिन थम्पसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकी राजदूत थम्पसनसँग आफ्नो पार्टीको कार्यालयमा बिहीबार भएको भेटका विषयमा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
‘नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत महामहिम डी.आर. थम्प्सनद्वारा शिष्टाचार भेटका सन्दर्भमा हाम्रो पार्टी केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गर्दै ! भेटमा स्वागत एवम् कार्यकाल सफलताको कामना सहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भयो,’ अध्यक्ष नेपालले फेसबुकमा लेखेका छन् ।