सैनिक मुख्यालयमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । काठमाडौं महानगरपालिकाको २८ औं महानगर दिवसको अवसरमा सैनिक मुख्यालयमा दुई दिने निःशुल्क वृहत स्वास्थ्य शिविर सुरु भएको छ ।
नेपाली सेनाको सहकार्यमा काठमाडौं महानगरद्वारा भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदान आयोजना गरिएको स्वास्थ्य शिविरको प्रधानसेनापति प्रभुराम शर्मा र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले उद्घाटन गरेका छन् ।
उक्त स्वास्थ्य शिविर स्थानीय बासिन्दाहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यका साथ मिति २०७९ मंसिर २८ गते र २९ गते संचालन हुनेछ । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन हुने शिविरमा, स्वास्थ्य परीक्षणका लागि बिहान ८ बजेबाट मध्यान्ह १२ बजेसम्म नाम दर्ता गर्न सकिने छ ।
३। सो स्वास्थ्य शिविरमा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, काठमाण्डौ महानगरपालिकाका प्रशासकीय अधिकृत, नेपाली सेनाका रथीवृन्दहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
वृहत स्वास्थ्य शिविरमा मेडिसिन, नाक कान घाटी रोग, छाला रोग, स्त्री रोग, बाल रोग दन्त सेवा लगाएतको उपचार हुने महानगरले जनाएको छ भने अल्ट्रासाउन्ड, फिजियोथेरापी, इसिजी, एक्स रे लगाएत सेवाहरु उपलव्ध गराइएको छ । चिकित्सकहरुको सिफारिस अनुसार निःशुल्क औषधीसमेत वितरण गर्ने व्यवस्था रहेको छ ।