नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी उत्कृष्ट शाखाको रुपमा पुरस्कृत

नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको छ । काभ्रे जिल्लाको बनेपा नगरपालिकामा सञ्चालन भइरहेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३१ औं केन्द्रीय सभामा उत्कृष्ट शाखाको रुपमा गुल्मी शाखा पुरस्कृत भएको हो ।

काठमाडौं उपत्यका बाहिरका शाखाहरु मध्ये विगतका वर्षहरुमा गरेका प्रशंसनीय कार्यहरुको प्रगतिका आधारमा २०६६ सालमा स्थापित गुल्मी जिल्ला शाखालाई उत्कृष्ट शाखा घोषणा गर्दै यस जिल्लाको अक्षयकोषमा सहयोग प्रदान गर्ने गरी रु.५० हजार पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
प्रतिष्ठानले केन्द्रीय सभाबाट विगत तीन वषमा यस शाखाबाट भएका कार्यसम्पदानको मूल्याङ्कन गरी उत्कृष्ट शाखाको रुपमा पुरस्कृत गरेको नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीका निवर्तमान सभापति अखिलेश्वरप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सोही अवसरमा बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरन्त शाक्य, प्रतिष्ठानका केन्द्रीय सभापति बलराम न्यौपाने, मुटुरोग विशेषज्ञ डा.मिरेन्द्रराज पाण्डेले नगद रु.५० हजार सहित सम्मानपत्र प्रतिष्ठानका गुल्मी शाखाका पदाधिकारीहरुलाई प्रदान गर्नुभएको थियो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान लुम्बिनी प्रदेश संयोजक समेत रहनुभएका अखिलेश्वरप्रसाद पाण्डे, प्रतिष्ठान गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसाल, सचिव विनोद पाण्डे, सहसचिव वीरेन्द्र भुसाल, सदस्य अशोक पाण्डे, जगन्ननाथ गौतमलाई हस्तान्तरण गनुभएको भएको थियो ।
यस जिल्लामा २०६६ स्थापना भएको प्रतिष्ठानले गुल्मीका दुरदराजका ग्रामीण क्षेत्रहरुमा मुटुसम्बन्धी शिविर तथा सचेतनाका कार्यक्रमको सञ्चालन गर्दै आइरहको प्रतिष्ठान गुल्मीका सभापति शेरबहादुर थापाले बताउनुभयो ।