सरकार गठनमा विदेशी चलखेल, गठबन्धन भित्र शक्ति बाँफाँडमा लफडा

काठमाडौं । केही वर्षदेखि नेपालको राजनीतिमा अमेरिकी चासो र सकृयता निकै बढेको छ । नेपालमा मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर निर्वाचन मत परिणाम सार्वजनिक भएसँगै बिदेशी चलखेल अझ ह्वात्तै बढेको हो । निर्वाचन सकिएर परिणाम सार्वजनिक भइ नसक्दै नेपालका लागि अमेरिकी राजदुत डी. आर. थम्प्सन र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवको सक्रियता निकै बढेको कुटनीतिका जानकारहरु बताउँछन ।
निर्वाचन सम्पन्न भएलगत्तै राजदुत थम्प्सनले नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपाललाई पार्टी कार्यालयमा भेटवार्ता गरेका थिए । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले भेटवार्ताको कुरा आफ्नो फेसबुक पेजमा समेत राख्दै शिष्टाचार भेटवार्ता भएको र उक्त भेटमा स्वागत एवं कार्यकाल सफलताको कामना सहित नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको कुरा उल्लेख गरेका थिए ।
प्रतिनिधि सभामा १० सिट जितेको एकीकृत समाजवादीले सत्ता गठबन्धनमा भावी राष्ट्रपति वा सभामुख मध्ये एक पद मागेको बताइएको छ । तर कांग्रेसले भने यी दुबै पद दिन इन्कार गरेको चर्चा राजनीतिक बृत्तमा चल्दै आएको छ । एसलाई उपराष्ट्रपति, उपसभामुख र उपप्रधानमन्त्री मध्येबाट मिलाउने कुरा गरेको चर्चा भैरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल राष्ट्रपति पाए खाने आकांक्षा रहेको बताइएको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले अमेरिका निकट मान्निछ । आफू बलियो हुने गरि भावी सरकार गठनमा सत्ता गठबन्धन दलबीच पावर सेयरिङ गर्ने तयारी रहेको बताइन्छ । देउवाले भरसक राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसबाटै बनाउन खोजिरहेका काँग्रेस निकट समाचारस्रोत बताउँछ । यसै सिलसिलामा नेपाललाई मनाउन प्रधानमन्त्री देउवाले अमेरिकी राजदुत मार्फत भूमिका खेलिरहेको कतिपयको आशंका छ ।
सरकार गठनका लागि राजनीतिक दलहरूले आआफ्नै रणनीति तय गरिरहेका बेलामा महाशक्ति राष्ट्र अमेरिकी राजदुत थम्प्सनको राजनीतिक भेटघाट र सकृयतालाई अर्थपुर्ण रूपमा हेरिएको छ । संघीय संसदको मत परिणाम आएपछि अमेरिका, भारत, चीन, बेलायत, युरोपियन मुलुकका राजदुत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सकृय भैरहेका छन ।
अमेरिकी राजदुत एमसीसी, पिपिसिको विरोध नगर्ने, आगामी दिनमा पिपिसी पारित गर्न अनुकुल हुने गरि गैरकम्युनिष्ट सरकार गठन गर्न सकृय रहेका छन । भारतीय राजदुत कालापानी, लिम्पियाधुरा र लिपुलेकको कुरा नउठाउने दलको सरकार बनाउन सकृय रहेको छ । भारतीय राजदुत नवीन श्रीबास्तवले निर्वाचनको मतगणना जारी भएकै बेला प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवासमै भेटेका थिए ।
त्यसपछि श्रीबास्तवले गत बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । उनले त्यहाँ एक घण्टा बिताएका थिए । भेटघाटमा भारतीय राजदुतले ओलीलाई विजयीको शुभकामना दिनुका साथै भावी सरकार गठनमा चासो दिएको कुरा सार्वजनिक भएको छ । श्रीबास्तवले ओलीलाई भेटनु अगाडि सोही दिन बिहान उपराष्ट्रपति नन्द बहादुर पुनलाई पनि भेटेका थिए । पुन राष्ट्रपति हुन चाहेका छन । नेपाल समाजवादी दलका अध्यक्ष डा. बाबुराम भट्टराईलाई राष्ट्रपतिमा सहमति जुटन नसकेको अवस्थामा पुनलाई बनाउने सहमति भएमा पनि भारत सकारात्मक हुने राजनीतिक वृत्तमा चर्चा छ ।