विश्वकै होचा व्यक्ति बने अफसिन

संसारको सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे । उनको उचाइ ६५.२४ सेन्टिमिटर छ ।
गिनिज वल्र्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन् । अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन् । उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन् ।
जन्मिदा उनको तौल ७ सय ग्राम मात्र थियो । अहिले उनको तौल ६.५ किलो मात्र छ । होचो भएकै कारण उनी स्कुल जान सकेनन् । तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन् । जसका कारण उनी निकै खुसी छन् ।
अफसिन स्मार्टफोन चलाउन सिपालु छन् । तर, उनलाई फोन बोकेर हिँड्न सकस हुन्छ । ‘धेरैबेर चलाउनलाई फोन ज्यादा गह्रौँ हुन्छ । तैपनि म चलाउँछु,’ उनी भन्छन् ।
उनी कार्टुन हेरेर र सामाजिक सञ्जाल स्क्रोल गरेर समय कटाउँछन् । एक साथीको सहयोगमा उनी इन्स्टाग्राम चलाउँछन् ।
स्थानीयबासीमाझ अफसिन निकै लोकप्रिय छन् । तर, गाउँमा उनी एक्लै हिँड्न सक्दैनन् । त्यसैले बुबाआमामध्ये सधैँ एक जना उनको साथमा हुनुपर्छ । उनी आफैँ हिँड्न सक्छन् । तर, कहिलेकाहीँ अरुले बोकेको मन पराउँछन् ।
यसअघि २०१० मा ६७.०८ सेन्टिमिटरका नेपालका खगेन्द्र थापामगर विश्वकै होचा व्यक्ति बनेका थिए । एक वर्षपछि उनको कीर्तिमान तोडियो ।
फेरि २०१२ मा नेपालका चन्द्र डाँगी सबैभन्दा होचा व्यक्ति भए । ५४.६ सेन्टिमिटरका उनी हालसम्म भेटिएकामध्ये सबैभन्दा होचा व्यक्ति हुन् । तर, २०१५ मा उनको निधनपछि थापामगर फेरि होचा व्यक्ति बने । २०२० मा उनको पनि मृत्यु भयो ।