देवघाट र यसको धार्मिक महत्व

नेपालको सात प्रदेशहरु मध्ये गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्ला एक धार्मिक महत्व बोकेको जिल्ला हो । नेपालको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै ऐतिहासिक महत्व रहेको छ । तनहुँ जिल्लाको साविकका गाविसहरु कोटा, बैदी, छिपछिपे र देवघाटलार्ई समायोजन गरी देवघाट गाउँपालिका गठन गरिएको थियो । गाउँपालिकाको जम्मा क्षेत्रफल १५९ वर्ग किलोमिटर रहेको छ ।
यो गाउँपालिकामा पर्ने देवघाट धाम परापूर्वकाल देखि पवित्र तीर्थस्थलको रुपमा परिचित रहेको छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार यस भूमिमा परापूर्वकालमा देवताहरुले बसोवास गरेका छन । त्यसैले यस पवित्र भूमिको नाम देवघाट रहन गएको हो । हिन्दु धर्मशास्त्रमा उल्लेख गरिए अनुसार चारधाम क्षेत्र स्नान गरेर यस तिर्थमा स्नान गरिएको छैन भने मानव जिवन व्यर्थ हुनेछ । साथै अन्यत्र तिर्थ नगई यस तिर्थमा मात्र स्नान गरे मात्र पनि चारधाम तिर्थ गए बराबरको पूण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।
यस पवित्र तिर्थस्थल प्राकृतिक, ऐतिहासिक धार्मिक सौन्दर्यताले भरिपूर्ण छ । विदेशी पाहुनाको लागि देवघाटमा मनोरञ्जन लिने वोटीङ डुङ्गाहरु राखिएका छन । हिमालबाट विभिन्न नदीहरु मिसिएर बग्दै आएको त्रिशुली र कालीगण्डकी नदी देवघाटमा मिसिएका छन । चिसो सुन्दर पवित्र यस नदीको पानीमा वोटीङ्ग गर्दै मनोरम प्राकृतिक हरियाली जंगलको दृश्य अवलोकन गर्न पाउनु पर्यटकको लागि धेरै महत्वपूर्ण मानिन्छ ।
समस्त हिन्दू धर्माबलम्वीहरूको पवित्रस्थल देवघाटधाम हिन्दूहरूको महत्त्वपूर्ण तीर्थस्थलका प्रयागहरु मध्ये आदिप्रयाग देवघाट धाम भएको विद्वानहरूले बताएका छन ।
यहाँको प्राचीन भग्नावशेष मणिमुकुन्द सेनद्वारा निर्मित मन्दिरहरू र चक्रवततितशीला हो । सिद्धबाबा गलेश्वर ब्रह्मचारीद्वारा स्थापित आश्रम र वेदवेदाङ्ग विद्यालय हो । अन्य आश्रमहरूमा महेश आश्रम, हरिहर आश्रम आदि रहेका छन् । नवलपुरतर्फ मौलाकालिका माईको मन्दिरका साथै थुप्रै मन्दिरहरू रहेका छन ्। गैर आवासीय नेपाली संघले एक ठूलो वृद्धाश्रम बनाइदिएको छ ।


त्यस्तै, अन्य वृद्धाश्रम कुटी पनि यहाँ रहेका छन । बृद्वबृद्वाहरूले यहाँ कुटी खरिद गरेर बस्न सक्ने व्यवस्था रहेको छ । चितवन र तनहुँको संगमस्थल देवघाटमा विभिन्न चाड पर्वहरूमा ठूलो मेला लग्दछ । त्यसमध्ये माघे संक्रातिको दिन त्रिवेणी नुहाउनेको घुइँचो लाग्छ । यहाँ मानिसहरूको जीवनको अन्त्यतिर अर्थात बृद्वबृद्वा भएपछि एक पटक भएपनि आएर धर्म प्राप्ती गर्न लालायीत हुने गर्दछन ।
नारायणी र कालीगण्डकी नदीहरूको मनोरम प्राकृतिक जलधारा, सफा कन्चन जल, स्वच्छ, शान्त र हरियाली बातावरण पर्यटकका आकर्षण हुन । भरतपुरको पोखरा बसपार्कबाट बस तथा ट्याक्सीमाफर्त देवघाट सजिलै पुग्न सकिन्छ । पुल्चोकबाट टेम्पोमा दुई सय र पोखरा बसपार्कबाट बसमा तीस रूपैयाँ तिरेर देवघाट पुग्न सकिन्छ ।
झोलुङ्गे पुल तरेपछि तनहुँको देवघाट पुगिन्छ । तल त्रिशुलीमा डुंगा चल्छ । डुंगा चढेर त्रिशुली र कालीगण्डकीको बेणीसंगम पुगेर श्राद्व गर्न सकिन्छ । झोलुङ्गे पुल तरेर माथिबाट पनि बेणी संगम धाम पुगेर श्राद्व गर्न सकिन्छ ।
देवघाटमा रहेका आश्रमहरूः–
बालिका आश्रम, गर्ग–ऋषी आश्रम,गलेश्वर आश्रम, शंकराचार्य आश्रम लगायत रहेका छन । यस भूमिलाई मानव निर्मित श्रोत र साधनले सिंगार्न सकेमा यसको महत्व विश्वमा अझै बढने देखिन्छ ।