फ्रान्सलाई पराजित गरेर अर्जेन्टिनाले हात पार्यो फिफा विश्वकपको उपाधि
काठमाडौं । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना चार–दुई गोलअन्तरले विजयी बनेको हो ।
पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गरे । फ्रान्सका एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाए । यस्तै, फ्रान्सका आर्लियन चुवामेनीको प्रहार बाहिरियो ।
लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली तीन(तीन को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले दुई गोलको अग्रता बनाएको थियो । तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल दुई(दुई को बराबरी गरेका थिए ।
निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत् ह्याट्रिक गर्दै खेल तीन–तीन को बराबरीमा पुर्याएका थिए । त्यसपछि कुनै गोल हुनसकेन र खेल पेनाल्टीमा पुगेको थियो ।
सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।
एमबाप्पेलाई गोल्डेन बुट, मेसीलाई गोल्डेन बल
फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन् । कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितका हुन् । एमबाप्पेले कतार विश्वकपको सात खेलमा आठ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । मेस्सीले सात खेलमा सात गोल गरे ।
यसैगरी अर्जेन्टिनाका कप्तान मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् । अर्जेन्टिनाले ३६ वर्षपछि विश्कप जित्दा उसका कप्तान लियोनेल मेस्सी सर्वकालीन महान् फुटबलरमा दरिएका छन् ।
पाँचौं पटक विश्वकप खेलेका ३५ वर्षीय मेस्सीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको कीर्तिमानसमेत रचेका छन् । उनले यसअघि जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान तोडेका छन् ।
फाइनल खेलमा दुई गोल गरेका मेस्सीले यस विश्वकपमा सात गोल गरेका छन् । मेस्सी विश्वकपमा सर्वोकृष्ट खेलाडी भएको दोस्रो पटक हो । यसअघि उनले सन् २०१४ को विश्वकपमा पनि यो अवार्ड जितेका थिए ।
छैटौं पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनालाई तेस्रो उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीको यो पहिलो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो ।
अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । विश्व फुटबलमा सबै खाले उपाधि चुमेका मेस्सीले विश्वकप उपाधि मात्र जित्न बाँकी थियो । विश्वकप उपाधि चुम्ने सपना पनि मेस्सीले कतारमा पूरा गरेरै छाडेका छन् ।
मार्टिनेजले जिते गोल्डेन ग्लोभ
विश्वकपका उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्ड अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जितेका छन् । ३० वर्षीय मार्टिनेजले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले टाइब्रेकरमा फ्रान्सको प्रहार समेत बचाए । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका मार्टिनेजले सबै खेल पूरा समय खेलेका थिए ।
उनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्धको दुवै टाइब्रेकरमा उत्कृष्टता प्रदर्शन गरे । अर्जेन्टिनाले यसअघि कोपा अमेरिका कप जित्दा पनि मार्टिनेजले उत्कृष्ट गोलरक्षक भएका थिए ।
यसैगरी फिफा योङ प्लेयर अवार्ड अर्जेन्टिनाका इन्जो फर्नान्डेजले जितेका छन् । यस अवार्ड २१ वर्षभन्दा मुनिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ।
उपाधिसँगै अर्जेन्टिनाले पायो ४२ मिलियन डलर
कतार विश्वकप उपाधिसँगै अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाएको छ । यो रकम सन् २०१८ को २१औं संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो ।
विजेता अर्जेन्टिनाले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफीसमेत हात पारेको छ । उक्त सक्कली ट्रफी रनिङ ट्रफी हो । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सधैँका लागि लैजान पाउने व्यवस्था छ ।
यस्तै उपविजेता फ्रान्सले ३० मिलियन अमेरिकी डलर पाएको छ । तेस्रो भएको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर र चौथो भएको मोरोक्कोले २५ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।
यसैगरी क्वार्टरफाइनलमा पुगेका टोलीले १७ मिलियन, अन्तिम १६ मा पुगेको प्रत्येक टोलीले १३ मिलियन र समूह चरणमा खेल्ने सबैले नौ मिलियन अमेरिकी डलर प्राप्त गरेका छन् ।