उपचाररत अध्यक्ष नेपाललाई भेट्न अस्पताल पुगे देउवा र प्रचण्ड

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरामी भएर अस्पताल भर्ना भएपछि सत्ता गठवन्धनको वैठक प्रभावित भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।
दुवै जना एकसाथ अस्पताल पुगेका हुन । दुवैजनाले अध्यक्ष नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलवार अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो ।
छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।
छातीको सङ्क्रमण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।
गौतमका अनुसार अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ भने जाउलोलगायत खानेकुरा खुवाइएको छ ।