ज्येष्ठ सदस्य राणाबाट नवनिर्वाचित सांसदलाई शपथ

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उहाँले सांसदहरूलाई शपथ गराउनुभएको हो ।

शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुग्नुभएको थियो । संसद् सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिनुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको थियो । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाउनुभएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कूल दुई सय ७५ सांसद छन् । 

शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।