एमाले नेतृत्वमा सत्ता गठवन्धनको तयारी, प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना

काठमाडौं । सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड बालकोट पुगेपछि नयाँ गठबन्धनको छलफल सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीबीच वार्ता भइरहेको छ । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेका थिए ।
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान लिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर बालकोट पुगेका थिए ।
सरकार गठन गर्न २७५ सांसद रहेको प्रतिनिधिसभामा १३८ चाहिन्छ। कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४ र जसपा १२ गरेर १५६ सांसद पुग्छन् । त्यसो हुँदा सहज रुपमा सरकार गठन गर्न सुविधाजनक बहुमत पुग्ने देखिएको छ । जनमत पार्टीका सीके राउत पनि बालकोट जान लागेको स्रोतको दावी छ । यी दलहरुबीच सहमति जुटेमा पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना बढेको छ ।
प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री नदिने अडानले कांग्रेस संघदेखि प्रदेशसम्म सरकारबाट बाहिर बस्नुपर्ने सम्भावना बढेको छ । माधव नेपाल नेतृत्वको नेकपा एसको पनि कांग्रेसकै हविगत हुने सम्भावना बढेको छ । आफूसँग छलफल नगरी प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले पनि सचिवालय बैठक बोलाएको छ ।
बैठकअघि अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको ब्रिफिङ गरेका छन् । नेकपा एस कसरी अघि बढ्ने भन्ने छलफल गर्न वैठक बसिरहेको छ ।