गुल्मीदरबारका १३ जना नागरिकहरुको निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया


गुल्मीदरबार गाउँपालिकाले मोतिया विन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सहयोग गरेको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीसँगको सम्झौतामा गाउँपालिका भित्रका नागरिकहरुको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गर्न शुरु गरिएको हो । ¥याप सर्भेका अनुसार यस गाउँपालिकामा ३१४ जना मोतिया विन्दुको तत्कालै अप्रेशन गर्नुपर्ने बिरामी छन् । आर्थिक अभाव कारण कोही पनि नागरिकले दृष्टि गुमाउन नपरोस भन्ने उद्देश्य राखेर मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिएको पालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो ।

“गाउँपालिकाभित्रका नागरिकहरुको सेवा गर्ने हाम्रो कर्तव्य हो”, अध्यक्ष थापाले भन्नुभयो, “मानव शरीरको आँखा जस्तो संवेदनशिल क्षेत्रमा आर्थिक अभावका कारणले कोही पनि नागरिकहरु दृष्टि गुमाउनु हुँदैन् ।” नागरीकहरुको सेवा पु¥याउनुपर्छ भन्ने भावनाले निःशुल्क अप्रशेनको सुरुवात गरेको अध्यक्ष थापाले बताउनुभयो । यसको अधिकतम सेवा लिन पनि उहाँले गाउँपालिकाबासी नागरीकहरुलाई आग्रह गर्नुभएको छ । सदरमुकाममा आई मोतिया विन्दुको शल्यक्रिया र्गन नसक्ने नागरिकहरुले अन्य ठाउँमा उपचार गरेको आवश्यक कागजात पालिकामा पेश गरे पालिकाले तोकेको मापदण्ड अनुसारको आर्थिक भुक्तानी गरिदिने समेत अध्यक्ष थापाले बताउनुभयो ।
गाउँपालिकाले मोतिया विन्दुको अप्रशेन गर्नुपर्ने बिरामीहरुको निःशुल्क अप्रेशन गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाले नेपाल नेत्र ज्योति संघसँग आगामी पाँच वर्षका लागि सम्झौता गरी आफ्ना नागरिकहरुको निःशुल्क मोतिया बिन्दुको अप्रेशन शुरु गरेको पाण्डेले बताउनुभयो । सम्झौता अनुसार प्रत्येक आँखाको शल्यक्रिया गर्दा ९ हजार रुपियाँ लाग्छ । जसमा ३ हजार रुपियाँ नेत्र ज्योति संघले आफैले व्यहोर्छ । भने रु.६ हजार पालिकाले व्यहोर्नेछ । जसअनुसार प्रथम पटक गुल्मीदरबारका १३ जना नागरिकहरुले निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया गरेका पाण्डेले जानकारी दिनुभयो ।
नेपाल नेत्र ज्याति संघ गुल्मीका सभापति शेरबहादुर थापाले केन्द्र देखि जिल्लातहसम्म हरेक पालिकामा सेवा विस्तार गर्ने नेत्र ज्योति संघको नीति रहेको बताउनुभयो । जिल्लाका तीन वटा पालिकासँग सम्झौता गरि मोतिया विन्दुको निःशुल्क अप्रेशन गर्न शुरु गरिएको सभापति थापाले जानकारी दिनुभयो । अहिले रेसुङ्गा नगरपालिका, ईश्मा गाउँपालिका र गुल्मीदरबार गाउँपालिकासँग सम्झौता गरि नागरिकहरुलाई निःशुल्क मोतिया विन्दुको अप्रशेन गर्न शुरु गरिएको सभापति थापाले उल्लेख गर्नुभयो । अन्य पालिकामा पनि मोतिया विन्दुको निःशुल्क शल्यक्रियाका लागि गरिएको छलफलमा अन्य पालिकाअध्यक्षहरु पनि सकरात्मक रहेको बताउनुभयो ।
नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले स्थानीय तह अहिले साधन र स्रोतले सम्पन्न भएकाले बाँकी रहेका पालिकाहरुले पनि आफ्ना नागरिकहरुको स्वास्थ्यमा पहुँच बढाउनका लागि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । संयोजक पाण्डेले यस कार्यक्रमबाट मूलतः ६० वर्ष माथिका जेष्ठ नागरिकहरु नै लाभांवित हुने बताउनुभयो । आफ्ना नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउनु स्थानीय तहको दायित्व पनि भएको उहाँको भनाई छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रका नेत्र अधिकृत सूर्य बस्नेतका अनुसार गुल्मीदरबार गाउँपालिकाका १३ जना, ईश्मा गाउँपालिकाका १९ जना र रेसुङ्गा नगरपालिकाका ५६ जनाको निःशुल्क आँखाको मोतिया विन्दुको अप्रेशन गरिएको छ ।