करबृद्धिको विरोधमा बुटवलको सडकमा कुर्लियो कांग्रेस
बुटवल – कर वृद्धिको विरोधमा नेपाली कांग्रेसले शुक्रबार बुटवलमा विरोध प्रदर्शन गरेको छ । बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशतसम्म गरेको करवृद्धि गरेको भन्दै कांग्रेसले फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
अस्पताललाइनबाट नाराबाजीसहित सुरु भएको बिरोध र्याली नगर परिक्रमा गर्दै बुटवल उपमहानगरपालिकाको कार्यालय अगाडि पुगेको थियो । कार्यालयको मूल गेटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको ढाड सेक्ने गरी गरेको कर वृद्धि बुटवलका जनताले नरुचाएको बताए । उनले करवृद्धि गर्नेपरे पनि गत वर्ष भन्दा १० देखि १५ प्रतिशत मात्रै गर्नुपर्ने बताए ।
विगतमा १० हजार कर तिर्नेले अहिले ३५ हजार कर तिर्नु परेको भन्दै पार्टी कार्यालयमा कर बढेका प्रमाण सहितका गुनासा आएको पाण्डेले बताए । पाण्डेले भने ँबढेको कर फिर्ता नलिएसम्म आन्दोलन रोकिदैन हुदैन,हामी झन् शशक्त भएर अघि बढ्छौं ।’उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठले निर्वाचित जनप्रतिनिधिलाई करवृद्धि गर्न जनताले नजिताएको बताए ।
‘जनप्रतिनिधिले धेरै सेवा सुविधा लिनका लागि कर वृद्धि गरेका छन्,धेरै सुविधा चाहिए लोकसेवा पढेर कर्मचारी भएर आऊ’ उनले भने ।
हाटबजारमा मकै पोल्नेसंग पनि कर लिइएको भन्दै उनले जनताको सेवक बन्न जनप्रतिनिधिलाई आग्रह गरे ।अव्यवस्थित बसोवास गर्नेहरुलाई लालपूर्जा वितरण गर्न लागे जस्तो गरेर कर लिन लागेको भन्दै त्यसप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ
कांग्रेस नेताहरुले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै सुवेदीले बाहिर हल्ला आएजस्तो करवृद्धि नगरिएको दाबी गरे । उनले सबैको सल्लाह र सुझावसहित आफू अघि बढ्ने आश्वासन दिए ।